काठमाडौं- नेकपा (एमाले) को विवाद समाधान कार्यदलले शनिबार पनि ‘अन्तिम सहमति’लाई टुंगोमा पुर्याउन सकेन।
यसअघि शुक्रबार झण्डै ८ घण्टा भएको छलफलपछि नेताहरूले कार्यदलमा सहमति भएको र शनिबार अन्तिम रुप दिने बताएका थिए। तर, शनिबार पनि कार्यदल सहमति सार्वजनिक गर्ने तहमा पुग्न सकेन।
एकता कार्यदलले सबै कुरा मिलिसकेको भनेपनि वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलालाई प्रभावित पार्ने र सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता लिने दुवै काम आफूबाट नहुने बताएका छन्।
एमालेको एकता जोगाउने भन्दै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल पक्षका नेता सम्मिलित एकता कार्यदलले ‘अन्तिम सहमति’ जुटिसकेको दाबी गरेका बेला नेपालको यस्तो टिप्पणी आएको हो।
‘के कुरा मिलेको छ या मिलेको छैन, त्यो मलाई थाहा छैन, त्यो उहाँहरुलाई नै थाहा होला। हाम्रो बटमलाइन दुई कुरामा छ’, नेपालले शनिबार साँझ भने, ‘अदालतलाई प्रभाव पार्ने कुरा सम्भव छैन, अदालतमा बुझाएको हस्ताक्षर फिर्ता गर्ने कुरै छैन।’ उनले यसबारे कसैलाई भ्रममा नपर्नसमेत आग्रह गरे। ‘यो कुरा क्लियर छ, कोही भ्रममा नपरौं’, नेपालले भने।
एकताको सन्देश दिन्छौं : विस्ट
कार्यदल सदस्य गोकर्ण विष्टले भने अब आइतबार सहमति हुने दाबी गरे। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आइतबार एकताकाे सन्देश दिने जिकिर गरे। ‘लगभग हामी समस्यालाई समग्रतामै समाधान खोज्ने विन्दुमा आइपुगेका छौं’, विष्टले भने, ‘यद्यपि, त्यो प्रकारको समाचार घोषणा गर्न सकिरहेका छैनौं। भोलिको दिन पार्टी एकताको सन्देश दिन हामी सफलता प्राप्त गर्नेछौं। अब केही मिलाउने, औपचारिकता दिलाउने काम मात्र बाँकी छ। त्यो भोलि हुन्छ।’
हामीलाई बधाई दिए हुन्छ: नेम्वाङ
नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले भोलि आइतबार बिहान एमाले एकता टुंगिने दाबी गरेका छन्।
‘हामीलाई बधाई दिए हुन्छ। धन्यवाद दिए हुन्छ। भोलि बिहान ८ बजे तपाइँहरूले सुखद् समाचार सुन्न पाउनुहुनेछ’, नेम्वाङले भने।