Fri. Nov 29th, 2024

कांग्रेस महाधिवेशन कार्यतालिका प्रभावित, ४७ जिल्लामा अझै बिवाद

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका पुनः प्रभावित हुने भएको छ ।

महाधिवेशन कार्यतालिका अनुसार असार २० गते क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यता विवाद टुंग्याइसक्नुपर्ने भएपनि अहिलेसम्म ३० जिल्लाको मात्रै सकिएको छ । बाँकी ४७ जिल्लाबारे निर्णय लिनै बाँकी छ । त्यसमध्ये कतिपय जिल्लामा समायोजन विवादका कारण क्रियाशील वितरणको काम जारी नै छ ।

सदस्यता छानबिन समितिले गौशालास्थित नेपाल–भारत मैत्री भवनमा बसेर काम गरिरहेको छ । कार्यतालिका अनुसार आज क्रियाशील सदस्यताको सूची केन्द्रीय समितिमा बुझाउन सक्ने अवस्था नरहेको समितिका सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

‘विवाद समाधानको विधि र मापदण्डबारे पदाधिकारी बैठकले नै ढिलो गरी निर्णय गरेकोले केही समय लाग्ने देखियो । ३० जिल्लाका सकेका छौं, सबै टुंग्याउन अझैं हप्ता दसदिन लाग्छ होला,’ पौडेलले भने ।

कांग्रेस केन्द्रीय समितिको २०७७ फागुन ६ गतेको बैठकले रमेश लेखकको संयोजकत्वमा क्रियाशील सदस्यता छानबिन समिति बनाएको थियो । समितिमा केन्द्रीय सदस्यहरु आनन्द ढुंगाना, प्रदीप पौडेल, श्याम घिमिरे, जीवन परियार, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य छन् ।

महाधिवेशन कार्यतालिका अनुसार आज छानबिन समितिले केन्द्रीय समितिलाई, असार ३० भित्र केन्द्रीय समितिले निर्वाचन समितिलाई सदस्यता बुझाउनुपर्नेछ ।

About The Author

अन्य समाचारहरु: