धादिङ – धादिङको बेनिघाट रोराङ र सिद्धलेक गाउँपालिकाले आगामी वर्ष २०७८÷७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहिबार गाउँसभा मार्फत दुबै पालिकाहरुले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सामाजिक, आर्थिक विकास, भौतिक पूर्वाधार, सस्थागत विकासको क्षेत्रमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । सामाजिक क्षेत्रतर्फ स्वास्थ्य, शिक्षा, खानेपानीलाई प्राथमिकतामा राखिएको छ भने आर्थिक विकास तर्फ कृषि तथा पशुपालन, उद्योग बाणिज्य, पर्यटन, सहकारी विकासलाई प्राथमिकता दिएको बेनिघाट रोराङका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले बताए ।
कोरोना रोकथाम तथा उपचारलाई पहिलो प्राथमिकतामा राख्दै पालिकाभित्र रहेका स्वास्थ्यसस्थाहरुको भौतिक पूर्वाधार विकास गरी आइसोलेशन सेन्टर व्यवस्थित गर्ने नीति अघि सारेको छ ।
विशेषगरी कृषि क्षेत्रको व्यवसायिकरणलाई जोड दिइएको सिद्धलेक गाउँपालिकाले जनाएको छ । संघीयता पछिको पहिलो जनप्रतिनिधिको यो अन्तिम वर्ष भएकोले थालिएका योजना अपुरो नहुनेगरी काम गर्ने नीति ल्याइएको सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले बताए ।
सिद्धलेक गाउँपालिकाले बैरेनी, पिपलनलाङ, ठाँटी सडक, बुङ्चुङ आरुबास भेडाबारी मैदान सडक र परेवाटार कुम्पुर भञ्ज्याङ बागबछला कालिदह सडक यो वर्ष नै कालोपत्रे गर्ने गरी योजना ल्याएको छ ।