धादिङ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल सँगै रहन नसक्ने तर्क गरेका छन् ।
सोमबार धादिङको बेनीघाट रोराङ गाउँपालिकामा स्थानीय नेता कार्यकर्तासँग कुराकानी गर्दै प्रचण्डले जेठ २ गते फर्कन सहमत भए पनि ओलीसँग वरिष्ठ नेता माधव नेपाल सँगै रहन नसक्ने जिकिर गरेका हुन् । ‘हिजो मात्रै माधवजीसहित हामी विपक्षी गठबन्धनका शीर्ष नेताहरु बस्यौं, उहाँले संविधानको रक्षार्थ पनि ओलीसँग रहन नसक्ने बताउनुभयो,’ प्रचण्डले भने ।
‘माधवजीहरु संसद पुनःस्थापना हुनासाथ नाम जे रहे पनि नयाँ पार्टी खोल्ने तयारीमा हुनुहुन्छ र तमाम एमाले नेता कार्यकर्ता माधवजीसँगै आउनुहुनेछ’ प्रचण्डले थपे ।
कार्यकर्ताहरुसँग गफिनेक्रममा असंवैधानिकरुपमा केपी ओलीले नियुक्त गरेका २१ जना मन्त्रीहरुको पद खारेज हुने सूचना आफूले पाएको खुलासा पनि गरे ।
प्रचण्डले ओली प्रवृत्ति चुरे प्रकरणदेखि नागरिकता विधेयकसम्म आउँदा डाउन भइसकेको बताउँदै ओलीको तीव्र आलोचना गरे । ‘सर्वोच्च अदालतले एकपछि अर्को गरी ओलीका कदमहरु उल्ट्याइरहेको देखिहाल्नु भएकै छ,’ उनले भने, ‘संसद पुनःस्थापना भएपछि देउवाजी प्रधानमन्त्री हुनुहुनेछ र यो गठबन्धन लामो समयसम्म जानेछ ।’
स्थानीय नेता कार्यकर्तासँग झण्डै आधा घण्टा बिताएका प्रचण्डले ओलीलाई देशद्रोहीको संज्ञा दिए । ‘आम पार्टी पंक्तिले बुझ्नुहोला, चुनाव गर्न मिति घोषणा गरेका होइनन्, यो त ओलीको चाल मात्रै हो,’ उनले भने, ‘संसद पुनःस्थापना हुन्छ, शेरबहादुर देउवा गठबन्धनको तर्फबाट प्रधानमन्त्री बन्नुहुनेछ ।’