१२ जेठ, धादिङ–
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले आफ्नै भवनमा पाँच बेडको आइसोलेसन स्थापना गरेको हो । आइसोलेसन स्थापनाका लागि आवश्यक सामग्री शान्ति नेपालले सहयोग गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढिरहदाँ अग्रपंक्तिमा खटिने पत्रकारहरु नै संक्रमित हुन थालेपछि धादिङमा पत्रकारका लागि आइसोलेसन कक्षको स्थापना गरिएको हो ।
भाडामा एउटै कोठामा दुई जना वा सो भन्दा बढि बस्ने पत्रकारहरुमा कोभिड पोजिटिभ देखियो भने आइसोलेट भएर बस्न सहजकता हुने नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष राजाराम शर्माले बताए । सामान्य स्वास्थ्य परामर्श नीलकण्ठ नगरपालिकाको स्वास्थ्य शाखाले एक जना स्वास्थ्यकर्मी मार्फत सेवा दिनेछ भने मनोपरामर्श सहयात्री समाजबाट हुने बताइएको छ ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै सञ्चारकर्मीहरु पनि कोरोना संक्रमणको उच्च खोजिममा रहेको भन्दै आइसोलेसन स्थापना गरिएको हो । महासंघले स्थापना गरेको आइसोलेसनमा गाह्रो अप्ठेरो भएमा नजिकै रहेको अस्थाई कोभिड १९ अस्पताल र धादिङ अस्पतालबाट सेवा दिने गरि व्यवस्था गरिएको छ । अत्यावश्यक पर्दा अक्सिजनको व्यवस्था पनि गरिएको छ ।
आइसोलेसनका लागि आवश्यक हात धुने साबुन २ बाक्सा, झुल ५ वटा, पानी तताउने जग २ वटा, टिस्यु पेपर रोल ३ बाक्सा पत्रकार महासंघ धादिङका निवर्तमान अध्यक्ष नवराज छत्कुली र हल्का बल्याङकेट ५ पिस जयराम ढुङगाना, टावल ५ वटा सहयात्री समाजले सहयोग गर्ने बताइएको छ ।
२०७८ जेठ १२ गते प्रकाशित