Sat. Nov 16th, 2024

तिमी र म दुवै नालायक

मुक्तिकला लामिछाने–

सरकार आज एउटा कुरा भन्छु

ध्यान दिएर सुन ल,

आज तिमी र म उस्तै उस्तै भयौँ

आज तिमी पनि नालायक अनि म पनि

जो हुनुको कुनै अर्थ नै छैन

तिमी देश र जनताको रगत र पसिनासँग

स्वार्थको खेल खेल्ने खेलाडी भयौँ

जनताको जीवनको अन्तिम स्वाससँग

अनि अस्ताएको घामसँग,

अनि

अनि म आफन्तको चित्कारसँग

मैले चाहेर पनि अस्ताउन लागेको

तारालाई छेक्न सकिन

किनकि मलाई तिमीले बाँधिदिएको बन्धन थियो

तर, तिमी त सत्तारूपी स्वतन्त्र चराजस्तो भएर पनि

आफ्नो पद र कुर्सीको लागि नालयाक भयौँ

तिमीले अरूको अस्तित्व स्वीकार्न सकेनौँ,

यो शरीर नाशवान छ भन्ने बुझ्नै सकेनौँ

त्यसैले पार्थिव शरीरको भ्रामक

अमरत्त्वको मोह राखेउ

आफ्नो भरौटेको लागि मरिहत्ते गर्ने तिमी

आफ्नो नजरसामुन्ने पसारिएका

कैँयन अस्ताएका जीवन देखेनौँ

त्यसैले तिमी नालायक नै हौँ ।।

जीवन जिजीविषाको तितिक्षामा

अल्झिएकाहरूको

एक एक गास खोसेर तिरको करबाट

आलिसान बंगलामा बसेर

रोज अर्बऔँको वहानमा सवार गर्ने तिमी

भोक, रोग, शोक र मराणासन्न जीवनको

चित्कार सुन्न नसक्ने तिमी

ती अबोध र कलिला जीवनसँग पनि खेलवाड गरेउ,

जसले तिमीलाई सत्ताको आश्रय दियो

आज त्यही जनताको चित्कारमा

थिलथिलिएको जीवनसँग आफ्नो

सत्ता जोगाउन तल्लीन छौँ,

थुक्क सरकार तिमीलाई सरकार हुनुको कुनै अधिकार छैन

हो सरकार तिमीलाई कुनै अधिकार छैन अनि मलाई पनि,

किनकि म पनि तिमी जस्तै छु,

मैले मेरो आफ्नाको दुखेको घाउमा

मलम पट्टी लगाउन सकिन

म मुक दर्शक बनेर आफ्नाको चित्कारमा

संगित भरेर बसे केबल संगित भरेर

मेरो आफ्नै रोएको थियो

जीवन र मृत्युको दोसाँधमा बसी

एकमुठी स्वासको भिक माग्दै

भन्दै थियो म बाँच्नु पर्छ

मेरो पछाडि धेरै जीवन छन्

शताब्दी पुगेका बुबाको सहारा बन्नु छु,

गर्भमा लागेको कोपिलालाई फुलाउनु छ

प्यारीको ओठमा मुस्कान छर्नु छ

रिसाएका आफ्नालाई फकाउनु छ,

बन्धक राखेको खेत निखन्नु छ

अनि देशले सम्वृद्धिको कोल्टो फेरेको पनि त हेर्नु छ

त्यसैले म अझै बाच्नु छ

तब म अवाक् हुन्छु

मसँग कुनै विकल्प थिएन

म निरीह थिएँ,

म लाचार थिएँ,

म विवश थिएँ

त्यो मेरो विडम्बना थियो

अब भन सरकार तिमी र म मा  के को फरक थियो ?

तिमी भन्न सक्दैनौँ यो मलाई थाहा छ

यसको जवाफ म आफैँ दिनेछु र निर्धक्क भएर भन्नेछु

त्यो मेरो दुर्भाग्य थियो अनि तिम्रो चाहिँ लापरवाही

त्यसैले सरकार तिमी र म दुवै नालायक ।

म आफन्तको नाउँमा कलंकको टीका लगाएको नालायक

अनि तिमी

सार जनताको संघर्षले ल्याएको व्यवस्थाको तहसनहस गर्ने,

अनि सबैको पीडालाई अझै आहात थप्ने कलुषित,

भ्रष्ट र साराको चाहना र भावनाको हत्या गर्ने हत्यारा नालायक,

त्यसैले सरकार तिमी र म उस्तै नालायक

जो हुनु र नहुनुको कुनै अर्थ नराख्ने उस्तै नालायक ।

About The Author

अन्य समाचारहरु: