राधिका सापकोटा–
आज अर्थात २०७८ बैशाख २८ गते विवाह गरेर धादिङ जिल्ला आएको १९ वर्ष भएछ । आज यो १९ वर्षलाई फर्केर हेर्न मन लाग्यो । काभ्रे र यहाँको बसाई करीब करीब उस्तै समय हुन लागेछ । म २१ वर्षको हुँदा मेरो विवाह भएको हो । काभ्रे मैले २१ वर्ष विताए । तर त्यहाँको २१ वर्ष र यहाँको १९ वर्ष आकाश पातालको फरक अनुभुति छ मसंग । धादिङ विवाह गरेर आउद मेरो श्रीमान सीतारम जी र केशव अधिकारी र सुवास खतिवडा सायद यही ३ जना मान्छे मात्र चिन्थे म । पार्टिले विवाह गरिदिएको भएपनि त्यत्ति छिट्टै मैले यहाँ पार्टिको वा कुनै संगठनको जिम्मेवारी पाईहाल्ने अवस्था भएन । मैले २१ वर्ष काभ्रेमा आफुलाई स्थापित गर्न गरेका सबै मिहेनत यहाँ आएपछि शुन्ना बराबर भएको थियो । अनुभव काम लागेको भएपनि मसंग त्यो अनुभव छ भन्ने स्थान भेटाउन मलाई धेरै समय लाग्यो । पढाउने पेशा खासै मन नपर्ने भएपनि आएपछि पाएको पहिलो जागिर द राईजिङ भिलेज बोर्डिङ स्कुलमा टिचरको जागिर मेरो लागि समाउने एउटा हाँगो भएको थियो । सीताराम जी मामाघर बस्दै आउनु भएको रहेछ विवाह पछि नयाँ गृहस्थी शुरु गर्नुपर्ने अवस्था रह्रयो । मसंग ८ हजार रुपैया थियो । जम्मा त्यत्ति सम्पत्तिबाट हामीले हाम्रो जीवन शुरु गर्यौं । कोठामा बस्ने त भनियो तर सबै सामाग्री कसरी जुटाउने भन्ने समस्या थियो सायद ।
अहिले पनि संझन्छु म बैरेनी हेल्थ पोष्टमा कार्यरत शम्भुमामाले भोलीपल्ट एउटा सिलावरको ठुलो बाटामा एउटा कुकर, एउटा कराई, एउटा थाप्के , ४ वटा जस्तो थाल लगायतको एक सरो भाडा किनेर ल्याईदिनु भयो । म नयाँ भएकोले मलाई समस्याको सियर भएन तर मलाई लाग्छ त्यो मामाले नै किनेर ल्याइदिनु भको थियो । मेरो जागिरबाट ३२ सय आउँथ्यो पत्रकारको कमाई उल्टै हिड्ने खर्च दिनु पर्थ्यो । कहिले कहिले माइत जान मन लाग्दा गाडी भाडा नभएर नगएका दिनहरु पनि छन् । आफ्नो चिनेको भन्ने कोही नभएको ठाउँमा नयाँ सम्बन्धहरु स्थापित गर्नु कठिन थियो । त्यसमा पनि घरमा दुख गरीरहनु भएको सासु ससुरा साना साना भाई बहिनी उहाँहरुको जिम्मेवारी पनि हामीसंग नै थियो । २ वर्ष बैरेनीमा मास्टरी गरेपछि म गर्भवति भए । गर्भवति भएर पनि ८ महिना पढाए त्यसपछि धादिङवेसी सर्ने सल्लाह भयो । म भने त्यत्ति खुसी थिइन किनभने कम्तिमा मैले बैरेनी चिन्न थालेको थिए । मलाई पनि अरुले चिन्न थालेका थिए ।
एउटा सानो भएपनि जागिर समाउने हाँगा थियो अब फेरी त्यो सब छोडेर नयाँ ठाउँ जाने कुरा कहाली लाग्दो थियो मेरो लागि तर पनि धादिङवेसी जाँदा धेरै अवसर छ भन्ने हिसाबले हामी धादिङवेसी आयौं । सानो एउटा कोठा लिएर बस्यौं । मेरो अवस्था काम गर्न सक्ने थिएन । बच्चा जन्माउने समय कुर्ने मात्र मेरो काम भयो । बच्चा जन्मियो २ महिना जति आराम नै गर्नुपर्यो । त्यो समय हाम्रा लागि साह्रै कष्ठकर थियो । कमाई नहुँदाको अवस्था कति कहाली लाग्दो हुन्छ मैले त्यतिवेला नै भोगेको छु । त्यसपछि मलाई आराम गर्न मन लाग्न छोड्यो । मैले काम गर्नुपर्छ भन्ने भयो तर कहाँ ? कस्ले दिने काम ? विवाह गर्दा आई.ए सकिएको थियो ।
अधुरो पढाई पुरा गर्न पनि मन थियो । नीलकण्ठ क्याप्समा विएड भर्ना भए । विहान नानी छोडेर पढ्न जान थाले । जागिर पाइन्छ की भनेका ठाउँहरुमा डकुमेन्ट बुझाउन थाले । सानो बच्चा नयाँ मान्छे काम पाउन मुस्किल भयो । त्यत्तिवेला नीलकण्ठ सामुदायिक अध्ययन केन्द्रमा सामुदायिक परिचालक मागेको रहेछ । निवेदन दिए । लिखित परिक्षा भयो , अन्र्तवार्ता भयो । त्यत्तिवेला नानी १ वर्ष अलि पुगेको थिएन । अन्र्तवार्तामा त्यही प्रश्न आयो फिल्ड जानु पर्छ बच्चा के गर्नु हुन्छ ? मैले बच्चा व्यवस्थापन मेरो जिम्मा भयो मलाई जागिर दिनोस् । महिला भएका कारण बच्चा जन्माउनु मेरो कर्तव्य हो भने । मेरो नाम निस्क्यो । जम्मा १८०० तलब आउने गरी मैले जागिर पाए । धादिङ उद्योग बाणिज्य संघ भित्रै सामुदायिक अध्ययन केन्द्र भएकाले केही समय काम गरेपछि सायद मेरो काम हेरेर धुव्र दाई राजकुमार दाईहरुले १५०० थपिदिनु भयो । परिचालकबाट म व्यवस्थापक भए २०० थपिएर २००० पुग्यो अथवा जम्मा ३५०० तलब आउने भयो । विहान पढ्न जाने दिउँसो अफिस जाने मेरो दिनचर्या भयो । नानी सीताराम जी ले हेर्नुहुन्थ्यो । तँ आट म पुर्याउँछु भने जस्तै काभ्रे कै एकजना धिताल दाईको मिलिजुली होटल थियो । मेरो नानी पुरै उहाँहरुले हुर्काउनु भयो । दिशा पिसा , खाना पीना सबै उहाँहरुको जिम्मामा छोडेर म काममा निस्क्य । नानी दुध खाँदै थिई । ३ दिनको लागि खाल्टे जानु पर्ने भयो । जान्न भन्ने कुनै अवस्था थिएन वा समस्या राख्ने भन्ने नै भएन । म धु्रव दाई कृष्णकुमार सरहरुसंग खाल्टे गए । दिन भर त कामले नै सबै विर्सन्थे जब राती हुन्थ्यो बच्चाको यादले आँखा रसाउँथ्यो । न फोन थियो कुरा गर्न । दुध गानिएर दुखाईले अर्को तिर समस्या पारिरहेको थियो । तर कसैसंग यो भनिन मैले । खाल्टेबाट सुनौलाबजार हुँदै हामी धादिङवेसी आउने भयौं । सुनौलाबजार बाट धादिङबेसी आउने बाटो पुरै ओरालो थियो ।
३ दिन देखि बच्चाले नखाएको दुध गानिएर दुखाई सहनै नसक्ने भइसकेको थियो । ओरालो हिड्दा त असह्रै पीडा भयो । म तल आउन सक्छु जस्तै लागेन । दाईहरुलाई ट्वाइलेट जान्छु भनेर पछाडी बसे । कुर्ता लगाएकोले सल ओडेको थिए । कुर्ता भित्रबाट छातिलाई सलले बेस्सरी बाँधे ताकी हिड्दा हल्लेर नदुखोस् भनेर त्यसपछि पछि पछि हिडे । दाईहरुले हिड्न गाह्रो भको हो भन्नु हुन्थ्यो हैन भनेर जवरजस्त हाँस्थे । बल्ल बल्ल अफिस आईपुगेको थिए । नानीको हात भाँचिएको खबर थाहा पाए । कोठामा पुगेर छोरीलाई अंगालो हालेर बेस्सरी रोएँ । छोरीले आँसु पछ्दै नरोउ मलाई दुखेको छैन भन्दा झनै मुटु गाँठो परेर आयो । ०६२÷०६३ को आन्दोलन मलाई धादिङमा राजनीतिक रुपमा चिनाउने एउटा अवसर भयो । आन्दोलनमा म सकृय रुपमा लागे । जसले मलाई सबैले चिन्ने अवसर पाउनु भयो । मेरो क्षमता केही बाहिर आयो । आन्दोलन पछि जिल्ला विकास समिति र प्रयास नेपालको साझेदारीमा गाउँ विकास कार्यक्रममा सल्यानटार बसेर काम गर्ने अवसर पाए । नानी सानो भएपनि छोडेर जानुको विकल्प थिएन । करीब ३ वर्ष म सल्याटार बसेर सामाजिक परिचालकको रुपमा काम गरे । सानो बच्चा छोडेर महिनौ फिल्डमा बस्दा दिन त वित्यो तर रात विताउन साह्रै गाह्रो हुन्थ्यो ।
कैयौं रात विहान उठ्दा सिरानी आँशुले पुरै भिजेको हुन्थ्यो । यता विएड पढ्दै पनि थिए । काम गर्दै परीक्षाको बेलामा आउने र परीक्षा दिने गरेर अरु सबै रेगुलर कटाए तर अंग्रेजी गाह्रो लाग्थ्यो । १ वर्ष छोडे १ वर्ष फेल भए । अब नी फेल भए वर्ष लस हुन्छ भन्ने डरले टिउसन पढ्ने तयारी गरे । सल्यानटारको काम मिलाएर शुक्रबारे जाने आईतबार सम्म काम गर्ने र अरु दिन पढ्ने गरे । देवी अधिकारी सरले धेरै मिहेनत गरेर त्यो इङ्गलिस पास हुने बनाउनु भयो । त्यसपछि ओरेक, आई.सी.डि.सी र फोकसमा कार्यक्रम संयोजकको रुपमा काम गदैै आफुलाई परिमार्जन गर्दै लगे । काम गर्दै पढ्दै २०६६ देखि महिलाहरुको मुद्दा जुन काभ्रेबाट यता आएसी छुटे छुटे जस्तो भएको थिृयो त्यसलाई निरन्तरता दिन थाले । २०६६ देखि जिल्लामा महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजालको नेतृत्व गर्ने र २०६८ देखि सहयात्री समाज नेपालको कार्यकारी निर्देशक भएर महिला आन्दोलनको नेतृत्व गर्ने अवसर पाए । जो आज सम्म निरन्तर छ । विचमा कानुन पढ्ने रहर जाग्यो । त्यो सानोकै रहर थ्यो जो पुरा हुन पाएको थिएन । परीक्षाको अघिल्लो दिन नसुतेर पढेर परीक्षा दिएर कानुनमा व्याजलर गरे ।
यी सबै कुरा संझदा एउटा युग विताएँ जस्तो लाग्छ । यी १९ वर्षमा दुःख के हो, सुख के हो भन्ने बुझ्ने अवसर पाए । अब त म यही जन्मेको जस्तो लाग्छ । काभ्रेमा भन्दा सायद पसिना यहाँ धेरै भिजेकोले होला यहाँकै माया धेरै हुँदो रहेछ । ८ हजारबाट शुरु गरेर कैयौ रात भोकै बसेको मेरो शरीर आज आफ्नो एउटा समान्य जीवन सहज रुपमा चलाउन सक्ने हैसियतमा पुगेको छ । विगत संझदा कहिले कही आफैलाई सपना जस्तो लाग्छ, कथा जस्तो लाग्छ तर त्यही विगतले आज मलाई यहाँ पुर्याएको छ । त्यतिवेलाको दुख र संघर्षले मलाई आज निडर, धैर्यवान र मिहेनती बनाएको छ । त्यसैले मैले यो जीवनबाट सिकेको कुरा मिहेनत, परिश्रम, धैर्यता र निरन्तरताले नै जीवन सार्थक हुने रहेछ । शम्भु मामाले किनिदिनु भएको भाँडाबाट शुरु गरेको मेरो गृहस्थी आज अरुले देख्दा सानको जिन्दगी जिएको छ भन्ने सम्म बनाउन सकेको छु ।
यो अवस्थमा आउन मैले रगत पसिना र आँशु बराबर भिजाएको छु । कहिले कही अरुले बेकारका कुरा काट्दा, रीस डाहा गरेदा भने पीडा हुँदो रहेछ । सायद मैले भोगेको सबै कथा र व्यथा उहाँहरुले देख्नु भएको छैन । हिजोको राधिका नदेखि आजको राधिका देख्नेलाई त्यस्तो लाग्नु स्वभाविक हो । मलाई यो जिल्लामा यहाँ सम्म ल्याउन सहयोग गर्ने सबै सबै प्रति म कृतज्ञन छु । कसैको नाम लेखिन मैले किनकी त्यो लामो लिस्ट बन्छ । मैले धेरैको माया ममता र सहयोग पाएको छु त्यसैले त आज यहाँ छु । आशा छ आगामी दिनमा पनि यहाँहरुको माया, सहयोग र आर्शिवाद पाउने छु ।
२०७८ बैशाख २८ गते प्रकाशित