Thu. Nov 28th, 2024

नुवाकोटको अक्सिजन उत्पादनमा बिद्युत आपूर्तिले समस्या

फाइल फोटो

शंकर श्रेष्ठ
२६ बैशाख, धादिङ–

देशभर अक्सिजन अभाव बढ्दै गर्दा नुवाकोटमा रहेको अक्सिजन उत्पादन कम्पनीले क्षमता अनुसार अक्सिजन तयार गर्न सकेको छैन । ककनी गाउँपालिका वडा नं. २ मा रहेको हाम्रो अक्सिजन ग्याँस उद्योग प्रालिले बिजुली बत्तिको समस्याले गर्दा क्षमता अनुसार अक्सिजन उत्पादन गर्न नसकेको हो ।

दैनिक ७ सय सिलिन्डर भर्न सक्ने क्षमता भएपनि कम्पनीले अहिले सरदर ५ सयको हाराहारीमा मात्रै सिलिन्डर भर्दै आएको कम्पनीका अध्यक्ष नवराज पाण्डेले बताए । ‘छिनछिनमै बत्ति जान्छ, एक पटक बत्ति जाँदा फेरी काम सुरु गर्न एक घण्टा लाग्छ, शनिबार त एउटै पनि सिलिन्डर भर्न सकिएन’ पाण्डेले भने ।

‘बिजुली बत्ति र कम्पनीसम्म मोटर पुग्ने बाटो गतिलो नभएकै कारण फुल फेजमा कम्पनी संचालन हुन सकिरहेको छैन’ अध्यक्ष पाण्डे भन्छन्–‘कोरोना संक्रमित बिरामीको उपचारमा अक्सिजन अभाव हुन नदिन कुनै कसुर नराखी हामी काम गर्न तयार छौं ।’

अक्सिजन उद्योगको लागी देवीघाट स्थित सवस्टेशनबाट प्रशारण लाइन लगिएको छ । नियमित विद्युत आपूर्ति भएमा प्रतिदिन नौ सयसम्म सिलिण्डर उत्पादन गर्न सकिने कम्पनीका संचालक प्रदिपकुमार सेढाइले बताए । विद्युत आपूर्तिमा रहेको समस्या समाधानका लागी पहल गर्न जिल्ला प्रशासन कार्यालय र नेपाल विद्युत प्राधिकरण, नुवाकोट वितरण केन्द्रलाई अनुरोध गरेकाले समस्या समाधान भए उत्पादन बढाएर अक्सिजनको अभाव कम गर्न सकिने उनले बताए ।

काठमाडौको बालाजु बाइपासबाट २० किलोमिटर भित्र नुवाकोटको ककनीमा कम्पनीको अक्सिजन उत्पादन प्लान्ट छ । त्यहाँसम्म पुग्न मोटरबाटो सहज बनाइदिन स्थानीय सरकारदेखि नेतासम्मलाई हारगुहार गर्दा समेत सुनुवाई नहँदा अहिले समस्या भएको कम्पनी संचालकहरुको भनाई छ ।

८ वर्षदेखि ओखरपौवाबाट प्लान्ट लगाएर सुरु गरेको थियो । यसअघिका दिनमा उत्पादन गरिएका अक्सिजन अस्पताल सहित अन्य उद्योग तथा कलकारखानामा समेत उपलब्ध गराउदै आएकोमा हाल कोरोना सङ्क्रमित बिरामीको लागि देशभर अक्सिजनको अभाव भएसगैँ अस्पताल र बिरामीको लागी मात्रै उपलब्ध गराउने निर्णय भएको कम्पनीले जनाएको छ ।

उद्योगसंग रहेका ४७ लिटर क्षमताको पाच हजार ठूला सिलिण्डर मध्ये हाल चार हजार २०० सिलिण्डर चालु अवस्थामा छन् । कोरोना बिरामीको लागि अन्य बिरामीको भन्दा अक्सिजन बढी खपत हुने भएकाले ठूला सिलिण्डर नै प्रयोग गर्नुपर्ने देखिएको छ । सक्रमित बिरामीको लागि प्रतिघण्टा दश लिटरसम्म अक्सिजन आवश्यक पर्ने चिकित्सकहरुको भनाइ छ ।

अक्सिजनको माग छ तर मार्केटको अभाव छैन–उद्योग विभाग
उद्योग विभागले भने ग्यास उद्योगीहरूले क्षमताअनुसार उत्पादन गरिरहेको बताउँदै आएको छ । ‘उपत्यकामा ९ र बाहिर १७ उद्योग छन् । क्षमताअनुसार चलिरहेका छन् ।’ विभागका निर्देशक ज्ञानेन्द्र पराजुली भन्छन्, ‘अक्सिजनको माग छ तर मार्केटको अभाव छैन । अहिले समस्या भनेको सिलिन्डरको हो । त्यो पनि व्यवस्थापन हुन्छ ।’

विभागका अनुसार नेपालमा रहेका उद्योगको दैनिक क्षमता ५ हजार ६० मिटर क्युब हो । ती उद्योगमा १ लाख ८ हजार १ सय ६४ सिलिन्डर छन् । क्षमताअनुसार उत्पादन भइरहेकाले अभाव भइसकेको छैन । अन्य उद्योगमा गएका सिलिन्डर फिर्ता आउने क्रममा रहेकाले पनि तत्काल समस्या नहुने विभागको दाबी छ ।

२०७८ बैशाख २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: