१२ चैत, धादिङ–
धादिङको पाँच वटा स्थानीय तहमा संचालन भएको बहिनी शिक्षाका लागि दिदी कार्यक्रम प्रभावकारी भएको छ । कार्यक्रमले बालविवाह, विद्यार्थीहरुको कक्षा छाड्ने दर घटाउन महत्वपूर्ण भूमिका खेलेको धादिङबेसीमा आयोजित कार्यक्रममा बताइएको छ ।
विद्यालयमा सीमान्तकृत समुदायका बालिकाहरुको पढाइ निरन्तरता र अन्य सहयोगका लागि विभिन्न प्रदेशका ५ जिल्लाका पालिकामा सञ्चालित ‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’ ले कक्षा छाड्ने दर घटाउन भूमिका खेलेकोे पाइएको छ । आर्थिक, सामाजिक, शारीरिक समस्याले विद्यालय नजाने निर्णय गरिसकेका बालिकाहरु अहिले भविष्यको लक्ष्य नै निर्धारण गरेर विद्यालय जान थालेको बालिकाहरुले बताएका छन् ।
भिएसओ नेपालको सहयोगमा आसमान नेपालद्वारा संचालन भइरहेको परियोजनाको बारेमा धादिङबेसीमा प्रदेश स्तरीय सिकाई आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । साथै परियोजना संचालन भइरहेको गण्डकी प्रदेशको लमजुङ, प्रदेश नम्बर २ को पर्सा र कर्णाली प्रदेशको सुर्खेतमा बिहीबार प्रदेशस्तरीय छलफलको आयोजना गरेको आसमान नेपालका कार्यक्रम व्यवस्थापक शेखर सापकोटाले बताए ।
कार्यक्रम अन्तर्गत विद्यालयमा पढ्ने विपन्न परिवारका छात्राहरूका लागि अस्थायी अभिभावकको रूपमा सोही समुदायका दिदीहरूलाई जिम्मा दिने गरिएको छ । दिदीहरूले स्वयंसेवकको रूपमा आफ्नो समुदायका बहिनीहरूलाई नियमित हेरचाह गर्दै आएका छन् । दिदीहरूले उनीहरूलाई पढाइतर्फ आकर्षित गर्न उनीहरूको साथीजस्तै भएर नियमित सँगत गर्ने, उनीहरूका समस्याका बारेमा भलाकुसारी गर्ने र समस्यामा परामर्श गर्ने गरेको स्वयंसेवक दिदी रजनी राना मगरले बताइन् । संस्थाले बहिनी शिक्षाका लागि दिदी कार्यक्रम मार्फत विद्यालय जान सहज बनाउन बालिकाहरुलाई शैक्षिक सामग्री सहयोगसँँगै उनीहरुको क्षमता विकासको लागि काम गर्दै आएको छ ।
भीएसओ र आसमान नेपालको साझेदारीमा धादिङमा बालिकाहरुलाई लक्षित गरि बहिनी शिक्षाका लागि दिदी कार्यक्रम संचालन भइरहेको छ । कार्यक्रमअन्तर्गत बालिकाको शिक्षा पाउने अधिकार प्रवद्र्धन गर्न र समुदायबाट लैङ्गिक हिंसाको असर घटाउन विशेष गरि बालिका शिक्षाको लागि काम गर्दै आएको छ ।
२०७७ चैत १२ गते प्रकाशित