Thu. Nov 28th, 2024

धादिङका १३ वटा विद्यालयमा हात धुने पेडल स्टेशन


१२ पुस, धादिङ–


न हातले धाराको टुटी घुमाईरहनु पर्ने, न त बन्द नै गर्नुपर्ने । हात धुने स्टेशनसँगै जडित भुँईमा रहेको संयन्त्रलाई पैदलले दबाएपछि धाराको टुटीबाट पानी झर्न थाल्छ र छोडेपछि पानी बन्द हुन्छ । साबुनका लागि पनि उहि प्रक्रिया अनुसार गर्न सकिन्छ । कन्ट्याक्ट लेस ह्याण्ड वासिङ स्टेशन अर्थात हातले छोइरहनु नपर्ने हात धुने स्टेशन धादिङ जिल्लाको पाँच वटा स्थानीय तहहरुका १३ वटा विद्यालयहरुमा जडान गरिएको छ ।

डीएफआईडीको आर्थिक सहयोगमा भीएसो नेपाल र आसामान नेपाल द्धारा संचालित बहिनी शिक्षाका लागि दिदी कार्यक्रम अन्र्तगत प्रदान गरिएको छ । कोरोना भाइरस लगायत अन्य सरुवा रोगहरु हातको माध्यमबाट धारा र धाराको माध्यमबाट अरु व्यक्तिलाई समेत सर्ने भएकाले हातले नछोईकन हात धुन मिल्ने प्रविधि जडान गरिएको आसमान नेपालले संचालन गरेको बहिनी शिक्षाका लागि दिदी कार्यक्रम अन्र्तगत जिल्ला संयोजक सुनिल केसीले बताए ।

नीलकण्ठ नगरपालिकाको कर्णेश्वर माध्यमिक विद्यालय, सिद्धलेक गाउँपालिकाको कालीदेबी माध्यमिक विद्यालय, पञ्चमुखी माध्यमिक विद्यालय, अकलादेबी माध्यमिक विद्यालय, गंगाजमुना गाउँपालिकाको बसेरी माध्यमिक विद्यालय, शिवालय माध्यमिक विद्यालयमा जडान गरिएको हो । त्यस्तै त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार माध्यमिक विद्यालय, रानीपौवा माध्यमिक विद्यालय, जनज्योति आधारभूत विद्यालय, बेनिघाट रोराङ गाउँपालिकाको संङखादेबी माध्यमिक विद्यालय, राष्ट्रिय माध्यमिक विद्यालय, राष्ट्रिय आधारभूत विद्यालय र गोइराङ आधारभूत विद्यालयमा हात धुने स्टेशन प्रदान गरिएको हो ।

विश्वभर नै कोरोना भाइरसको संक्रमण बढ्दो छ । कुनैै पनि भाइरसबाट जोगिन सरसफाईमा विशेष ध्यान जान आवश्यक हुन्छ । त्यसमाथि पनि कोरोना भाइरसके महामारीबाट बच्न चिकित्सकले पटकपटक हात धुन सुझाव दिइरहेका छन् । कहिले काहीँ हात धुने तरिका नजान्दा पनि भाइरसको जोखिम हुने गर्छ । नियमित रुपमा हात धोइरहेपछि धुने तरिकाको बारेमा जानकारी नहुदाँ जोखिम बढ्ने भएका कारण बढी भीड हुने ठाउँ विद्यालयलाई प्रदान गरिएको हो ।

एउटा स्ट्याण्डमा दुई वटा धारा जडान गरिएको छ । जसले दुरी कायम पनि हुने केसीले बताए । ‘अहिले विद्यालयहरु संचालन भएका छन्, विद्यार्थीहरुको भीड हुने भएका कारण विद्यालयमा जडान गरेका हौँ, उनले भने, ‘एक खुट्टाले दबाउँदा पानी झर्ने, अर्को खुट्टाले थिच्दा साबुन झर्ने प्रविधिको हात धुने स्टेशन निर्माण गरेका हौँ ।’ स्टेशनसँगै साबुन÷स्याम्फू पनि प्रदान गरिएको छ ।

२०७७ पुस १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: