Tue. Mar 11th, 2025

राष्ट्रिय महिला क्रिकेट एपीएफ र लुम्बिनी सेमिफाइनलमा

१३ पुस , दाङ –

लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ । आइतबार एपीएफले प्रदेश २ लाई र लुम्बिनीले कर्णाली प्रदेशलाई ९ विकेटले हराउँदै एक खेलअगावै सेमिफाइनल यात्रा तय गरेका हुन् ।

लगातार दुई खेलमा पराजित भएका कर्णाली र प्रदेश २ बाहिरिएका छन् । प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा एपीएफले प्रदेश २ ले प्रस्तुत गरेको ७३ रनको चुनौतीलाई १३।१ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । एपीएफकी ओपनर ज्योति पाण्डेले ४० बलमा ४ चौकासहित सर्वाधिक ३० रनको योगदान दिइन् भने सरिता मगर ६ र इन्दु बर्मा १ रनमा अविजित रहे । त्यसअघि ३० बल खेल्दै १ चौकासहित १८ रन बनाएकी कप्तान सीता रानामगर आउट भइन् । प्रदेश २ का कविता गौतम र सरस्वतीकुमारी चौधरीले १–१ विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाई ७२ रन बनाएको थियो । अनुराधा चौधरीले प्रदेश २ बाट सर्वाधिक १८ रन बनाइन् । शोभा आलेले १३ रन बनाउँदा सन्तोषी चौधरीले ९ रन र विमला मगरले ६ रन बनाए । एपीएफबाट कप्तान सीता रानामगरले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् भने रेखा रावल, करुणा भण्डारी, ईश्वरी विष्ट र राजमती ऐरीले १–१ विकेट लिए । खेलमा एपीएफकी कप्तान सीता रानामगर प्लेयर अफ द म्याच घोषित भइन् ।

२०७७ पुस १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: