
३ पुस , एजेन्सी –
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आगामी महिना भारत भ्रमण गर्ने निश्चित भएसँगै उनलाई नेपाल भ्रमण गराउन बेलायतस्थित नेपाली समुदायले पहल गरेको छ ।
बेलायत नेपाल द्विपक्षीय सम्बन्धको २०४ वर्ष पुग्दा पनि बेलायती प्रधानमन्त्री कसैले हालसम्म नेपाल भ्रमण गरेका छैनन् ।
बेलायत आउने हरेक नेपाली राजदूतले बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण गराउनु आफ्नो प्रमुख एजेन्डा बताउने गरे पनि यसले मूर्तरूप लिएको छैन ।
लन्डन बरो अफ बार्नेटका उपमेयर काउन्सिलर लक्ष गुरुङले बेलायत नेपाल कूटनीतिक सम्बन्ध र गोर्खाहरुको योगदान दुई शताब्दीभन्दा बढी भइसकेको स्मरण गर्दै नेपाल सरकारका तर्फबाट औपचारिक निमन्त्रणा गर्न अनुरोध गरेका छन् ।
लन्डनस्थित नेपाली राजदूत डा . दुर्गाबहादुर सुवेदीको ध्यानाकर्षण गराउँदै उपमेयर काउन्सिलर लक्ष गुरुङले बेलायती प्रधानमन्त्रीको केही घण्टामात्र भ्रमण भए पनि त्यो ऐतिहासिक र उपलब्धिमूलक हुने उल्लेख गरेका छन् । पूर्वगोर्खा गुरुङले आफ्नो क्षेत्रका सांसदहरुमार्फत लबिइङ गर्ने पनि बताए ।
लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले यसबारे प्रक्रिया बढाएको तर जवाफ कस्तो आउँछ अहिले भन्न नसकिने बताइन् । प्रधानमन्त्रीका रूपमा र ब्रेक्जिटपछि बोरिस जोन्सनको भारत भ्रमण पहिलोपटक हुन लागेको हो । जोन्सनको इन्डो–प्यासिफिक क्षेत्रसँग निकट हुने अठोट पनि छ ।
बेलायत सरकारले गत मंगलबार प्रमुख रणनीतिक सम्बन्ध थप मजबुत बनाउन उनको भारत भ्रमण हुन लागेको जनाएको थियो जसले बेलायतमा रोजगार र लगानीमा मद्दत गर्ने आशा छ । बेलायतमा ८४२ भारतीय कम्पनी छन् जसको टर्नओभर ४१।२ बिलियन पाउन्ड छ ।
२०७७ पुस ३ गते प्रकाशित