३० मंसिर , काठमाडौ –
सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि मंगलबार बिहान डाकिएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।
प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बैठकस्थल पुगे पनि कोरम नपुगेको हो ।
प्रधानमन्त्रीको अध्यक्षता रहने परिषद्मा प्रमुख प्रतिपक्ष दलको नेता, प्रधान न्यायाधीश, सभामुख, उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष सदस्य हुन्छन् । संवैधानिक परिषद्सम्बन्धी ऐनमा बैठक बस्न ६ सदस्यीय परिषद्का कम्तीमा पाँच जना उपस्थित हुनै पर्ने प्रावधान छ । उपसभामुख पद अहिले रिक्त रहेकाले बैठकका लागि अहिले कायम रहेका पाँचै जना अनिवार्य उपस्थित हुनै पर्ने अवस्था छ ।
यस्तोमा सभामुख सापकोटा नगएपछि बैठकमा कोरम नपुगेको हो । विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिसका लागि बस्न लागेको परिषद् बैठकका लागि प्रधानमन्त्रीले आवश्यक गृहकार्य र सल्लाह नगरेको भन्दै सभामुख सहभागी नभएका हुन् ।
ुपरिषद्को बैठकका लागि आवश्यक समन्वयको अभाव भयो । पूर्वतयारी पुगेन र गृहकार्य पनि गरिएन भनेर सभामुख नजानुहुने भएको छ,ु सभामुखको सचिवालय स्रोतले मंगलबार बिहान भनेको थियो । संवैधानिक आयोगमा प्रधानमन्त्री तथा परिषद् अध्यक्ष ओलीले एकलौटी रूपमा आफूनिकटका व्यक्तिहरूलाई नियुक्तिका लागि सिफारिसको तयारी गरेकाले सभामुख साक्षी बस्न नजाने उनीनिकटका व्यक्तिहरूले बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोगलगायत विभिन्न संवैधानिक आयोगमा ४५ सिटमा नियुक्तिका लागि परिषद्को बैठक राखिएको हो । यसअघि आइतबार बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता देउवा पनि गएका थिएनन् । उक्त बैठकमा सभामुख सापकोटा पनि अनुपस्थित थिए ।
२०७७ मंसिर ३० गते प्रकाशित