२९ मंसिर, धादिङ–
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध धादिङ लगायत देशभर प्रदर्शन गरेका छन् । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले धादिङ लगायत देशव्यापी विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा जिल्लाका सबै स्थानीय तहबाट कांग्रेसका नेता कार्यकर्ता र भातृ संगठनहरु सहभागी गराइएको नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाले जानकारी दिए ।
देशभर भएको प्रर्दशनमा काँग्रेसले सरकारप्रतिको वितृष्णा मुलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा भएको बताउँदै जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक भएको समेत बताए ।
प्रतिपक्षका रूपमा नेपाली काँग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लगेको काँग्रेसको आरोप छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अत्याचार र गैरजिम्मेवार क्रियाकलाप जारी राखेपछि सडकमा आउन बाँध्य भएको बताएका छन् । सरकारविरुद्ध हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रमा ढुङगा हान्ने, सडक बन्न गराउने काँग्रेसको उद्देश्य नभई बाध्यात्मक परिस्थितिले सडकमा उत्रनु परेको बताए ।
२०७७ मंसिर २९ गते प्रकाशित