Tue. Mar 11th, 2025

फुटबल खेलाडीको समान तलब

२६ मंसिर , काठमाडौ –

राष्ट्रिय फुटबल टोलीका पुरुष र महिला खेलाडीले अब समान तलब पाउने भएका छन्। अखिल नेपाल फुटबल संघ एन्फा को बिहीबार बसेको कार्यसमिति बैठकले पुरुष र महिला खेलाडीको तलब बराबर दिने निर्णय गरेको हो।

अब पुरुष र महिला खेलाडीले मासिक १८ हजार रुपैयाँ तलब पाउने छन्। यसअघि पुरुषको १५ हजार र महिला खेलाडीले सात हजार रुपैयाँ तलब पाउँदै आएका थिए। यसअघि पुरुष खेलाडी सरह महिलाले पनि तलब पाउनु पर्ने माग महिला खेलाडीले गर्दै आएका थिए। यसैगरी बैठकले एन्फाको वार्षिक साधारणसभा आगामी माघ ६ गते गर्ने निर्णय गरेको छ। कोरोना भाइरसको महामारीका कारण एन्फाको साधारणसभा सर्दै आएको थियो। बैठकले उपाध्यक्ष उपेन्द्रमान सिंहलाई फिफा विश्वकप छनोट खेलको संयोजक बनाउने निर्णय गरेको छ।

विश्वकप छनोट खेलको स्थानीय संयोजकको जिम्मेवारी कार्यसमिति सदस्य विजय घलेलाई दिने निर्णय पनि गरेको छ। बैठकले मुख्य प्रशिक्षक योहान कालिनले दिएको राजीनामा पनि स्वीकृत गरेको छ।बैठकले कालिनको राजीनामा स्वीकृत गर्दै बालगोपाल महर्जनलाई कार्यबहाक प्रशिक्षकको जिम्मेवारी दिएको छ।

सन् २०२२ को विश्वकप छनोटअन्तर्गत नेपालले अब घरेलु मैदान दशरथ रंगशालामा अस्ट्रेलिया, चाइनिज ताईपेइ र जोर्डनसँग प्रतिस्पर्धा गर्न बाँकी छ।

२०७७ मंसिर २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: