
२५ मंसिर , एजेन्सी –
भारतको स्वास्थ्य मन्त्रालयले अबको केही सातामा कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोपलाई अनुमति दिइने बताएको छ । मन्त्रालयले आफ्नो सुरुवाती योजना अनुसार ३० करोड मानिसहरुलाई खोप प्रदान गरिने उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना खोपको लागि तीन खोप कम्पनीले आवेदन दिएका छन् । आवेदन दिनेमध्येको एक सेरम इन्स्टिच्युट अफ इन्डियाले एक्स्ट्राजेनेकाको खोप निर्माणको अनुमति पाएको छ ।
अमेरिकी कम्पनी फाइजर र भारतीय खोप निर्माता भारत बायोटेकले पनि कोरोना खोपको अनुमतिका लागि आवेदन दिएका छन् ।
यीमध्ये केहीले केही सातामा भारतमा कोरोना खोपको अनुमति पाउने अधिकारीहरुको भनाइ छ । भारतले आफ्नो सुरुवाती खोप कार्यक्रममा एक करोड स्वास्थ्यकर्मी, दुई करोड फ्रन्ट लाइन वर्कर र २७ करोड ५० वर्षभन्दा बढी उमेरका मानिसहरुलाई खोप दिइने बताएको छ । यसअघि भारतको स्वास्थ्य मन्त्रालयले सन् २०२१ को अगष्टबाट मुलुकमा खोप कार्यक्रम सुरु गर्ने बताएको थियो ।
भारत बायोटेकले आफ्नो खोपको तेस्रो चरणको परीक्षण पनि पूरा गरेको छैन तर उसले आफ्नो कोरोना खोपलाई अनुमति दिन आवेदन दिइसकेको छ ।
२०७७ मंसिर २५ गते प्रकाशित