Thu. Nov 28th, 2024

सिद्धलेकको पिपलटारमा रहेको प्रसारण लाइनको अवरोध हटाउन कार्यदल गठन


२१ मंसिर, धादिङ–


मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइननिर्माणका क्रममा धादिङको सिद्धलेक गाउँपालिका-७ पिपलटारमा स्थानीयले पूर्वनिर्धारित स्थानबाट केही टावर अन्यत्र सार्नुपर्ने माग राख्दै आएका छन् ।

स्थानीयको मागबारे धादिङका जनप्रतिनिधिले ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराएका थिए । स्थानीयका मागबारे जानकारी दिएपछि मन्त्रालयले समस्या समाधानका लागि सुझाव दिने गरी एक कार्यदल गठन गरेको छ ।

ऊर्जा मन्त्रालयका सह-सचिवको नेतृत्वमा गठित पाँच सदस्यीय कार्यदलमा नेपाल विद्युत प्राधिकरण र जिल्ला प्रशासन कार्यालय धादिङका प्रतिनिधि, सिद्धलेक गाउँपालिका(७ का वडाअध्यक्ष र प्रभावित मध्येबाट एक प्रतिनिधि छन् ।

मन्त्री पुनले प्रभावितलाई पुनस्र्थापना र पुनर्वाससहितका कार्यक्रम समेटेर दुई साताभित्र सुझाव पेस गर्ने कार्यादेश (टीओआर) कार्यदललाई दिएका छन् । कार्यदलको सुझावअनुसार प्राधिकरण सञ्चालक समितिबाट राहतको निर्णय गरिने जानकारी मन्त्री पुनले दिए ।

मर्स्याङ्दी नदी बेसिनका आयोजनाबाट काठमाण्डौं उपत्यकामा विद्युत ल्याउन तनहुँको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्म उक्त प्रसारण लाइन निर्माण भइरहेको छ । ८२ किलोमिटर लामो प्रसारण लाइनमा २ सय ३१ टावर बन्नेछन् ।

पिलटारमा स्थानीयको अवरोधका कारण दुईवटा टावर निर्माणको काम रोकिएको छ । प्रसारणलाइनअन्तर्गत ७५ किलोमिटरभन्दा बढी तार तानिसकिएको छ ।प्रसारण लाइन बनेपछि मर्स्याङ्दी र मध्यममर्स्याङ्दी जलविद्युत आयोजनाबाट उत्पादित ७०/७० मेगावाटका साथै अन्य साना र निर्माण चरणमा रहेका आयोजनाबाट उत्पादित विद्युत काठमाण्डौं ल्याउन सकिनेछ ।

हाल १ सय २० केभी प्रसारण लाइनमार्फत मर्स्याङ्दी नदी बेसिनबाट उत्पादित विद्युत उपत्यका आइरहेको छ । कम क्षमताको प्रसारण लाइनका कारण उपत्यकाको विद्युत प्रणाली भरपर्दो हुन सकेको छैन ।

निर्माणाधीन २ सय २० केभी प्रसारण लाइनबाट १ हजार मेगावाट विद्युत आउने भएकाले उपत्यकाको विद्युत प्रणाली भरपर्दो हुने नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

छलफलमा मन्त्री पुका साथै ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक शाक्य, उप-कार्यकारी निर्देशक मनोज सिलवाल, मर्स्याङ्दी-काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनका आयोजना प्रमुख तारा प्रधानर प्रभावितहरुका तर्फबाट धादिङका प्रतिनिधिसभा सदस्य भुमी त्रिपाठी, नेकपाका जिल्ला अध्यक्ष नेत्रराज पौडेल र सिद्धलेक गाउँपालिका-७ का वडाअध्यक्ष लक्ष्मण खतिवडा लगायत थियो ।

२०७७ मंसिर २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: