१० मंसिर, काठमाडौ –
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृसंगठन अनेरास्ववियूका संयोजक ऐन महरले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता भंग गरेको आरोप लगाएका छन्। पछिल्लो समयमा नेकपाभित्र आन्तरिक कलह सुरु भएसँगै नेताहरु पक्ष विपक्षमा उत्रन थालेका छन्।
कात्तिक २८ गतेको सचिवालय बैठकमा दाहालले ओलीमाथि दर्जनौं आरोप लगाउँदै १९ पृष्ठको प्रस्ताव पेस गरेपछि शीर्ष नेताहरूकै बीच आरोप–प्रत्यारोप चरम बिन्दुमा पुगेको छ।
सचिवालयमा प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव पुस्तकमा प्रकाशन गरेर तल्ला कमिटीमा छलफलका लागि पठाउने काम अवैधानिक अमर्यादित अनुशासनहिन र पार्टी एकता भंगको आधार निर्माण गरेको महरको भनाई छ। प्रचण्डले आफ्नो खुट्टामा बन्चरो हान्ने काम आफैँले गरेको महरको टिप्पणी छ।
‘पार्टीको सचिवालय बैठकमै अवैधानिक रुपमा प्रस्तुत भएको कथित राजनितिक प्रतिवेदन भनिएको आरोप पत्र जसलाई सचिवालयको बैठकमा पार्टीका सिनियर अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओलीले खारेज गरिसक्नु भएको छ ।
महरले फेसबुकमा लेखेका छन्, ‘त्यसको उचित जवाफ दिने भनी यहि मंसिर १३ गते सचिवालय बैठकसमेत आह्वान गरिसकेको परिस्थितिमा हतार हतार त्यसलाई पुस्तकमा प्रकाशन गरेर तल्ला कमिटिमा छलफलका लागि पठाउने काम अवैधानिक अमर्यादित अनुशासनहिन र पार्टी एकता भंगको आधार निर्माण गर्नु भएको छ र प्रचण्डले आफ्नो खुट्टामा बन्चरो हान्ने काम आफैँले गर्नु भएको छ।’
महरले यसको दृढतापुर्वक सामना गर्न नेकपाका कार्यकर्ता एवं युवा विद्यार्थीलाई अपिल गरेका छन्।
कात्तिक २२ गते नेकपा पाँच नेताले बुझाएको पत्र, त्यसको जफमा ओलीले लेखेको पत्र र प्रतिउत्तरमा प्रचण्डले पठाएको पत्रसँगै सचिवालय बैठकमा उनले पेश गरेको राजनीतिक प्रतिवेदनसहित सबै सामग्री समेटेर प्रचण्ड नेपाल समूहले तल्लो कमिटीमा पूरै दस्तावेज पठाएको हो ।
नेकपा विवाद चर्किदै गर्दा प्रचण्डले एकल प्रस्ताव गरेपछि मंसिर ३ गतेको सचिवालय बैठकमा केपी ओलीले अर्को प्रस्तावका लागि १० दिनको समय मागरेका थिए । ओलीले प्रचण्डको प्रस्तावलाई आरोप पत्रको मात्र संज्ञा दिएका छन् ।
२०७७ मंसिर १० गते प्रकाशित