
१९ असोज, बुटवल –
प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध गरेपछि प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित भएको छ । कांग्रेस सांसदहरुले उठेर नाराबाजी गर्दै अवरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तीमगरले २ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
प्रदेश ५ को नामकरण र राजधानीका बारेमा विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसले माग गरेको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता वीरेन्द्र कनौडियाले सरकारले ल्याएको प्रस्तावको औचित्य पुष्टि गर्न माग गरेका थिए । समिति र विज्ञले दिएको सुझावविपरीत बाहिर सुरक्षा घेरा हालेर संसद्मा राजधानीका बारेमा निर्णय गर्न खोज्नु सरकारको तानाशाही प्रवृत्ति भएको कनौडियाले बताए ।
सरकारले प्रदेश ५ को राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेशसभामा प्रस्ताव पेस गरेको छ । त्यसै प्रस्तावबारेमा सोमबार सदनमा छलफल हुने कार्यसूची रहेको छ ।
यसैबीच प्रदेश ५ को नेकपा संसदीय दलले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी बनाउने प्रदेश सरकारको प्रस्तावका पक्षमा मत हाल्न आफ्ना प्रदेशसभा सदस्यहरुलाई ह्विप जारी गरेको छ ।
संसदीय दलको सोमबार बसेको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शंकर पोखरेलले सरकारको निर्णयका पक्षमै मत हाल्न ह्विप जारी गरेका हुन् ।
२०७७ असोज १९ गते प्रकाशित