Thu. Mar 13th, 2025

बिपदमा परेका धादिङका तीनसहित ९ स्थानीय तहलाई बागमती प्रदेशले सहयोग गर्ने


२६ साउन, धादिङ–


बागमती प्रदेश सरकारले बाढी पहिरोबाट क्षति पुगेका स्थानीय तहलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बागमती प्रदेश बिपद ब्यबस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले नौ वटा स्थानीय तहलाई सहयोग गर्ने निर्णय गरेको हो । विभिन्न क्षेत्रमा भएको क्षतिका आधारमा बागमती प्रदेशभित्रका सात वटा गाउँपालिका र दुई वटा नगरपालिकालाई सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

समितिको निर्णय अनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिकालाई ३० लाख, धादिङकै सिद्धलेक गाउँपालिका र गजुरी गाउँपालिकालाई २०÷२० लाख, नुवाकोटको बेलकोटगढी नगरपालिका २० लाख दिने भएको छ ।

त्यस्तै सिन्धुपाल्चोकको पाचपोखरी थाङपाल गाउँपालिकालाई १५ लाख र बाह्रबिसे नगरपालिका थप १५ लाख, दोलखाको गौरीशंकर गाउँपालिकालाई ३० लाख, कालिञ्चोक गाउपालिकालाई १५ लाख र बिगु गाउँपालिका १५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रमुख सचिव मानबहादुर बीके लगायत सहभागी थिए । विपद् भएका स्थानीय तहहरुमा सहयोग गर्न बागमती प्रदेशले विपद् जोखिम न्यूनिकरण (विपद् कोष) स्थापना गरेको छ ।

२०७७ साउन २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: