Fri. Jan 31st, 2025

गाँजाखेती विस्थापनको लागि गजुरीकाे वाल्सिङमा वीउवीजन र कृषि उपकरण वितरण

२१ साउन, धादिङ-

दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं ३ स्थित वाल्सिङ गाउँका कृषकहरुलाइ कृृषि उपकरण तथा वीउ विजन वितरण गरिएको छ ।

नेपाल सरकारले अवैधानिक मानेको गाँजाको अवैध खेती हुने गरेको गाउँमा गाँजालाइ विस्थापित गरेर आधुनिक कृषि प्रणाली अवलम्वन गराउन र गाँजा खेतीको विकल्प दिनको लागि वीउ विजन र उपकरणहरु वितरण गरिएको गजुरी गाउँपालिकाले जनाएको छ ।

गजुरी गाउँपालिका भरि कृषि र सहकारीको क्षेत्रमा काम गरिरहेको सद्भाव बहुउद्येश्यीय सहकारी सस्थाले परिचालन गरिरहेको स्थानीय २ वटा सामुदायिक सस्थाका करिव ८० जना किसानहरुलाइ वीउ विजन र उपकरणहरु वितरण गरिएको सहकारीका ब्यवस्थापक बासुदेव सुवेदीले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र धादिङको जिविको पार्जन कार्यक्रम अन्तरगत रहेको बजेटबाट वाल्सिङ क्षेत्रका किसानहरुलाइ गाँजाखेतीबाट विस्थापित गराउनको लागि मौसम अनुसारका वीउ विजनहरु, औषधी छर्कने स्प्रेयर, पानी हाल्ने हजारी लगायतका उपकरण वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष सीता ढुङगानाले जानकारी दिइन् ।

उनले भनिन्, ‘हाम्रो पालिकाको माथिल्लो ग्रामिण क्षेत्रमा अवैध गाँजा खेती हुने गरेको छ, त्यहाँका किसानहरुलाइ विकल्प दिएर गाँजा खेती विस्थापन गर्ने गाउँपालिकाको निति अनुसार नै कृषिमा प्रोत्साहन गर्नको लागि वीउ विजन र उपकरण वितरण गरिएको हो ।’

मुला, काउली, गोलभेडा, लगायत मौसम अनुसारको वीउ विजन प्रदान गरिएको र आगामी दिनमा पनि उक्त क्षेत्रहरुमा वीउ विजनमा सहयोग गर्ने तथा कृषि अनुदानहरु उपलब्ध गराउँदै गाँजा खेतीलाइ पुर्ण रुपमा विस्थापित गर्ने लक्ष्य रहेको ढुङगानाले बताइन् ।

२०७७ साउन २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: