१२ जेठ, धादिङ–
धादिङको गल्छी गाउँपालिका वडा नं ८ कटुवालपौवाकी ३० वर्षीय महिला डिस्चार्ज भएकी छन् । कोरोना संक्रमण भेटिएपछि पाटन अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकी महिला सोमबार डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए ।
काठमाडौंको सतुंगलमा बस्दै आइरहेकी उनी लकडाउन सुरु भएपछि घर (धादिङ) आएकी थिइन् । चैत १५ गते धादिङ आएर वैशाख २७ गते काठमाडौं फर्किएकी थिइन् । काठमाडौं भित्रिएकाको स्वास्थ्य परीक्षण गर्ने नीति अनुसार वैशाख २९ गते महिलाको स्वाबको नमुना लिइएको थियो ।
जेठ १ गते आएको रिपोर्टमा महिलामा कोरोना पोजेटिभ देखिएको हो । उनको श्रीमान, छोरा तथा गाउँका ३९ जनाको स्वाब परिक्षण गरिएकोमा कसैलाई पनि कोरोना संक्रमण देखिएको थिएन ।
धादिङका तीनजना संक्रमित मध्ये दुईजना डिस्चार्ज भएका छन् । यसअघि नेत्रावती डबजोङ गाउँपालिकाका पुरुष निको भएर घर फर्किसकेका छन् भने थाक्रे गाउँपालिका वडा नं ७ का पुरुष उपचाररत छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । मृत्यु हुनेको संख्या ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
२०७७ जेठ १२ गते प्रकाशित