
६ जेठ, काठमाण्डौ –
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संयुक्त सदनमा प्रस्तुत गरेको आगामी वर्षको लागि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
नीति तथा कार्यक्रमअघि सांसदहरुबीच छलफल भएको थियो भने छलफलमा उठेको प्रश्नबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए । प्रधानमन्त्रीको जवाफलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेकोमा बहुमतले पारित भएको घोषणा गरिएको हो ।
सांसदहरु दुर्गा पौडेल, प्रेम सुवाल, मिनेन्द्र रिजाल, लक्ष्मणलाल कर्ण र सरिता गिरीले नीति तथा कार्यक्रम संशोधन गर्न माग गरे पनि मङ्गलबार बहुमतले पारित भएको छ ।
बहुमतले नीति तथा कार्यक्रम पारित भएकाले यसमा भएका व्यवस्था संशोधन हुने छैनन् । यसकै आधारमा अर्थ मन्त्रालयले बजेट बनाइरहेको छ ।
विभिन्न राजनीतिक दल र नेताहरुले सरकारको नीति तथा कार्यक्रम प्रभावकारी नभएको भन्दै आलोचना गर्नै आइरहेका थिए ।
२०७७ जेठ ६ गते प्रकाशित