
१५ बैशाख, धादिङ –
चिनियाँ लगानीमा निर्माणाधिन देशकै ठूलो सिमेन्ट उद्योग हुवासिन नारायणी सिमेन्ट उद्योगको निर्माण कार्य पुनः सुचारु भएको छ । कोरोना भाइरसले प्रभावले उद्योग निर्माणको काम रोकिएपनि उक्त सिमेन्ट उद्योगको काम अहिले फेरी सुरु भएको छ ।
निर्माणाधिन सिमेन्ट उद्योगमा २ सय ५० चाइनिज र १ सय ७५ नेपाली कामदारहरुले काम गरिरहेका छन् । नेपाली कामदारहरुको लागि बस्ने र खानेको ब्यवस्था उद्योग ले नै गरेको छ ।
निर्माणको काम पुनः सुरु गरिए पनि निर्माण सामाग्रीको अभावले भने काममा बाधा पुगेको उद्योगका स्थानीय व्यवस्थापक तुलसीजंग थापाले बताए । उनले भने, ‘सुरक्षित तरिकाले उद्योग निर्माणको काम सुरु गरिएको हो । सिमेन्ट र इट्टाको अभावले गर्दा काममा केही बाधा परेको छ ।’
कामदारहरुको सुरक्षाका लागि दैनिक दुई पटक ज्वरो परीक्षण गरिने गरेको, मास्क र पञ्जा लगाएर मात्र काममा लगाइएको, कामदारको स्वास्थ्य सुरक्षाका लागि एकजना नेपाली र एकजना चाइनिज स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । कार्यस्थलबाट काम विशेषले बाहिरिने कामदारलाई १४ दिन क्वाराइनटाइनमा राखेर मात्र काममा लगाउने व्यवस्था समेत गरिएको उद्योग प्रशासनले जनाएको छ ।
चाइनाको निर्माण कम्पनी ह्वाताओ कन्ट्रक्सन प्रालिले उद्योगको निर्माण गरिरहेको छ । दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित सञ्चालन गर्न लागिएको सिमेन्ट उद्योग आगामी ९ महिना भित्रमा निर्माण सम्पन्न भै उत्पादन थाल्ने लक्ष्य रहेको थियो । निर्माणाधिन उद्योग पृथ्वीराजमार्गको मलेखु देखि १६ किमी भित्र पर्छ । सिमेन्ट उद्योगमा चिनीयाँ कम्पनीको ८० प्रतिशत र नेपाली कम्पनीको २० प्रतिशत शेयर रहने छ ।
२०७७ बैशाख १५ गते प्रकाशित