सरिता श्रेष्ठ /३ बैशाख, धादिङ
५
लकडाउनको समयलाई सदुपयोग गर्न र विद्यार्थीहरुमा छाएको अन्यौलतालाई टार्न धादिङको थाक्रे गाउँपालिकाले रेडियो मार्फत एसइईको तयारी कक्षा थालेको छ । बैशाख १ गतेदेखि कृषि रेडियो १०१. ५ मेगाहर्ज, रेडियो राजमार्ग ९२.१ मेगाहर्ज र रेडियो मान्खु ९१.१ मेगाहर्जबाट हरेक दिन शैक्षिक कार्यक्रम मार्फत पढाउन थालिएको हो । बिहान र बेलुका एक/एक सिफ्र्ट र दिउँसो दुई सिफ्र्ट गरी एक दिनमा चार सिफ्र्टमा पढाउन थालिएको छ ।
विद्यार्थीहरुलाई प्राय असजिलो लाग्ने विषयहरु अंग्रेजी, विज्ञान, गणित, सामाजिक र अर्थशास्त्र विषयमा पढाई हुने गर्दछ । हरेक विषयको कक्षा हरेक दिन ४५ मिनेट सञ्चालन हुन्छ । पढाईने क्रममा केही विषय नबुझेमा वा प्रश्न राख्न चाहेमा रेडियोमा फोन गर्न सकिने बताइएको छ ।
एसइई परीक्षा दिन नपाएर विद्याथी तनावमा रहेका बेला उनीहरुको ध्यान केन्द्रित गराउने एउटा अवसर र समयको सदुपयोग पनि हुने सहजकर्ता एवम् महाकाली माध्यमिक विद्यालय, थाक्रे गाउँपालिका –४ तसर्पूका प्रधानाध्यपक टेकमान श्रेष्ठले बताए । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन देशभर लकडाउन गरिएको बेला गाउँपालिकाले रेडियो कार्यक्रम मार्फत पुनर्ताजगी गराएकोमा खुसी व्यक्र गरे ।
अन्तिम तयारीमा रहेका विद्यार्थीलाई परीक्षा स्थगित भएपछि जानेका कुरा पुनः पढ्ने र नजानेका कुरा सिक्ने अवसर मिलाइएको छ । एसईई पाठशालाका नियमित कार्यक्रम सुन्ने विद्यार्थीमा आत्मविश्वास पनि जागृत हुने विश्वास गरिएको छ । लकडाउनका कारण घरमा रहेका विद्यार्थीले रेडियोमार्फत पढन, नयाँ कुरा सिक्न र आफूले नबुझेका कुरा शिक्षकसँग सोध्न पाउने भएकाले यो एकदमै महत्वपूर्ण र अवसरको रुपमा मानिएको छ ।
रेडियो सुनेर अधिकतम लाभ लिन र लम्बिएको ‘लकडाउन’को अवस्थालाई मध्यनजर गरी सुरु गरिएको थाक्रे गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताए । ‘एसइईको तयारीमा रहेका विद्यार्थीहरु लकडाउनका कारण त्रास छन्, परीक्षा कहिले हुने एकिन पनि छैन’, पौडेलले भने, ‘परीक्षा दिन नपाएर भौतारिएका विद्यार्थीको मनोबल नगिरोस् भनेर गाउँपालिकाको सहयोगमा तयारी कक्षा रेडियो मार्फत सञ्चालन गरेका हौँ ।’
रेडियोमा प्रसारण भएका कार्यक्रमको अडियो फेसबुक पेजमा समेत राखिने भएका कारण पछिसम्म पनि विद्यार्थीले लाभ लिन सक्ने गाउँपालिकाले जनाएको छ ।
२०७७ बैशाख ३ गते प्रकाशित