२२ चैत, धादिङ
धादिङको धुनीबेसी नगरपालिका र थाक्रे गाउँपालिकामा संचालित इट्टाँ उद्योगका मजदुरलाई दैनिक खाने, बस्ने व्यवस्था उद्योगले नै गरेको छ । कोरोना भाईसरको संक्रमण फैलन नदिन सरकारले लगाएको लकडाउन जारी रहेको बेला दैनिक ज्यालादारी र मजदुरी गरेर परिवारको पेट पाल्दैे आएका मजदुरहरु मध्यनजर गर्दै उद्योग आफैले व्यवस्था मिलाएको हो । राजधानी काठमाडौँसँग जोडिएको धुनीबेसी नगरपालिका र थाक्रे गाउँपालिकाभित्र संचालित ३० वटा इट्टा उद्योगमा मात्रै करीब ९ हजार मजदुरहरु छन् ।
जिल्लाको थाक्रे गाउँपालिका वडा नं ७ जुङगेखोलामा संचालित एभरेष्ट इट्टा उद्योगले आफ्ना ८० जना मजदुरलाई बिहान बेलुकाको खाद्यन्न आफैले दिएको संचालक पुष्पराज रेग्मीले बताए । उद्योगमा ६० जना रोल्पाका र अन्य भारतबाट आएका मजदुरहरु छन् । उनीहरुलाई लकडाउन सुरु भएको दुई दिनपछिबाट उद्योगले खानाको व्यवस्था गरेको हो ।
एभरेष्ट इट्टा उद्योग जस्तै धुनीबेसी नगरपालिकामा संचालित २७ वटा इट्टा उद्योग र थाक्रेमा संचालित ३ वटा इट्टा उद्योगमा काम गर्ने मजदुरको खाद्यन्नको व्यवस्थापन उद्योगका संचालकहरु आफैले गरिदिएका छन् । मजदुरीका लागि टाढाटाढाबाट आएकाहरु एक त घर फर्किन पाएका छैनन् अर्कोतिर उद्योग बन्द हुदाँ समस्यामा परेका छन् । विशेषगरी महिला, बालबालिकाहरुलाई मध्यनजर गर्दै संचालकहरुले नै सबै व्यवस्थापन गरिदिएका छन् ।
लकडाउनले मजदुरको रोजीरोटी गुमेपछि त्यसपछि हुने खाद्य संकट टार्न उद्योगका संचालकहरुलाई आग्रह गरिएको थाक्रे गाउँपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेतीले बताइन् । छाक टार्न गाह्रो हुनेभएपछि उद्योगका संचालकहरुसँग नै समन्वय गरेर व्यवस्थापनका लागि आग्रह गरिएको रुपाखेतीले बताइन् । थाक्रेमा संचालित तीनवटा इट्टा उद्योगमा करीब पाँच सय जना मजदुरहरु कार्यरत छन् ।
धुनीबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यका अनुसार नगरपालिकाभित्र मात्रै २७ वटा इट्टा उद्योग छन् जसमा साढे ८ हजारभन्दा बढी मजदुरहरु कार्यरत छन् । मजदुरहरुलाई बाहिर निस्कन नदिई उद्योगमा नै खाद्यन्न सामग्रीहरु पु¥याउने गरी संचालकहरुले नै व्यवस्थापन गरिएको मेयर आचार्यले बताए ।
लकडाउनले घर फर्किन नसकेर अलपत्र बनेका बर्दियाका मजदुरहरु क्वारेन्टाइनमा बसेका छन् । नीलकण्ठ नगरपालिका वडा नं ३ मा निर्माण गरिएको क्वारेन्टाइनमा २० जना मजदुरहरुलाई खानाको व्यवस्थासहित राखिएको छ ।
२०७६ चैत २२ गते प्रकाशित