Thu. Nov 28th, 2024

आधारभुत परीक्षालाइ ‘हाउगुजी’ बनाउदै स्थानीय सरकार

बेनिघाट रोराङ गाउँपालिकाले आधारभुत तहको परिक्षाको लागि सेन्टर तोकेको मलेखुको बागेश्वरी मावि

परीक्षा केन्द्र टाढा भएपछि विद्यार्थीले पढाइ छाडे

२४ फागुन, धादिङ / मनिष दुवाडी-

स्थानीय सरकार संचालन ऐन, परिच्छेद ३ को उपदफा १ (ज) बमोजिम आधारभुत तहको परीक्षा संचालन, अनुगमन तथा ब्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाइ दिइएको छ । तर धादिङका अधिकाँश स्थानीय सरकारले आधारभुत तहको परीक्षा संचालन गर्ने नाममा संघिय सरकारकै अभ्यास गर्दा बालबालिकाहरुमा नकारात्मक असर परेको छ भने सहज र सर्वसुलभ शिक्षा भन्ने केन्द्रिय सरकारको नारालाइ नै गिज्याइरहेको छ ।

अधिकार पाएको नाममा स्थानीय सरकारहरुले परीक्षालाइ मर्यादित र गुणस्तरीय बनाउने बहानामा मनपरी गर्दा बालबालिकाहरुलाइ त्यसको प्रत्यक्ष असर पर्न थालेको छ । एस इ इ कै शैलीमा फरक विद्यालयमा परीक्षा केन्द्र तोक्ने, परीक्षामा सुरक्षाकर्मी परिचालन गर्ने, गाउँपालिकामा उत्तर पुस्तिका संकलन गरि फरक–फरक विद्यालयका शिक्षहरुबाट उत्तरपुस्तिका सम्परीक्षण गर्ने जस्ता कृयाकलापहरु गरेर आधारभुत तहको परीक्षालाइ नै ‘हाउगुजी’ बनाइदिएपछि यसको सर्वत्र विरोध हुन थालेको छ । कतिपय विद्यालयमा बालबालिकाहरुले पढाइ नै त्यागेका छन् भने नतिजामा समेत गम्भीर असर देखा पर्न थालेको छ ।

५ विद्यार्थीले पढाइ छाडे
आधारभुत परीक्षालाइ ब्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउने गाउँपालिकाले परीक्षा केन्द्र धेरैटाढा राखेपछि दक्षिणी धादिङको बाँसखर्क आधारभुत विद्यालयका पाँच विद्यार्थीले पढाइ छाडेका छन् ।

कक्षा ८ को पालिकास्तरीय परीक्षा हुने भएकोले बेनिघाट रोराङ गाउँपालिकाको शिक्षा शाखाले परीक्षा केन्द्र निर्धारण गर्दा ६ घण्टा भन्दा बढी हिड्नु पर्ने गरि परीक्षा केन्द्र राखेपछि उनीहरूले परीक्षा दिनै नसक्ने भन्दै पढाइ छाडेका हुन् । उनीहरुले कक्षा ८ को फारम नै भर्न नमानेको विद्यालयका शिक्षक जीवन तामाङले बताए । पढाइ नै छाड्नेहरूमा तिलक तामाङ, सिर्जना तामाङ, सुनदिप तामाङ, रिमला तामाङ र मनोज तामाङ रहेका छन् ।

महाभारत पहाड क्षेत्रमा रहेको बाँसखर्क आधारभूत विद्यालयको परीक्षा केन्द्र पृथ्वी राजमार्गमा रहेको बागेश्वरी माध्यामिक विद्यालय मलेखुमा राखिएको छ, जुन पैदल दुरीमा ७ घण्टाको फरक छ भने यातायातको सहज ब्यवस्था छैन । बेनिघाट रोराङ गाउँपालिकामा कक्षा ८ सञ्चालन भएका १७ विद्यालयमध्ये पृथ्वी राजमार्गको क्षेत्रमा रहेको तीन ओटा विद्यालयमा मात्र परीक्षकेन्द्र तोकेको हो । बेनिघाट रोराङमा ५ सय ६३ विद्यार्थी कक्षा ८ को परिक्षामा सहभागि हुदैछन् ।

बेनिघाट रोराङ गाउँपालिकाको बाँसखर्क आधारभुत विद्यालयको यो प्रतिनिधिमूलक घटना मात्र हो । स्थानीय सरकारले आधारभूत विद्यालयको व्यवस्थापन गर्नसक्ने सङ्घीय व्यवस्थापछि विद्यार्थीहरूलाई धेरै टाढा र अपायक पर्ने स्थानहरूमा परीक्षाकेन्द्र तोकेकाले समस्या भएको अभिभावकहरुले बताएका छन् । विशेष गरि विपन्न समुदायका लागि परीक्षा खर्चिलो र आर्थिक रुपले पनि निकै सकसपुर्ण बनेको अभिभावक सोम बहादुर चेपाङलको गुनासो छ ।

नतिजामा समेत गम्भीर असर
गत वर्ष ज्वालामुखी गाउँपालिका अन्तरग पर्ने शमिभन्ज्याङ माद्यमिक विद्यालयको कक्षा ८ को परीक्षामा ३२ जना विद्यार्थी अनुर्तीण भए । गाउँपालिकाले एस इ इ कै शैलीमा परिक्षा संचालन गरेपछि उक्त विद्यालयबाट जम्मा ८ जना विद्यार्थी मात्रै पास भए भने ३२ जना कक्षा ९ मा उक्लिन सकेनन् ।

शमीभन्ज्याङ माद्यमिक विद्यालयका प्रधानाध्यापक बसन्त श्रेष्ठले भने, ‘राम्रो भयो भन्ने कि नराम्रो भयो भन्ने, गत वर्ष फेल भएका ३२ जना मध्ये ९० प्रतिशत विद्यार्थी कक्षा दोहो¥याउन आएनन्, उनीहरु कोही गाँजा खाएर हिड्ने, कोही बसको खलासी बन्ने देखि विद्यालय फुटाउने सम्म अवस्थामा पुगेका छन् ।’

समग्रमा पालिकाभरि ८ कक्षाको उर्तीण प्रतिशत पनि जम्मा ५६ प्रतिशत मात्रै रहेको छ । जवकी संघिय सरकारले आधारभुत तहसम्मको शिक्षा जटिल बनाउन नपाइने भनेरै तोकेको छ ।
कक्षा ७ सम्म पारिवारिक वातावरण, सामाजिक अवस्था र विद्यालयको भुगोल अनुसार परीक्षा दिइरहेका विद्यार्थीहरुलाइ ८ कक्षामा पुग्ने वित्तिकै ठुलो हाउगुजी बनाइदिएर उनीहरुलाइ मानसिक असर दिएकाले नतिजामा पनि असर पुगेको हुनसक्ने श्रेष्ठले बताए ।

बेनिघाट रोराङकै जस्तो अवस्थामा थाक्रे गाउँपलिकाले १९ विद्यालयका ५ सय ६५ विद्यार्थीहरूका लागि नौ विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । गल्छी गाउँपालिकाको १५ विद्यालयका पाँच ओटा परीक्षकेन्द्र, गजुरी गाउँपलिकाको १७ विद्यालयको १२ परीक्षा केन्द्र, धुनीबेसी नगरपालिकाका २६ विद्यालयका १५ परीक्षा केन्द्रमा त्रिपुरासुन्दरी गाउँपलिकाको १९ विद्यालयको आठ परिक्षा केन्द्र कायम गरिएको छ । नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकाले भने गतवर्षदेखि नै गृह विद्यालयबाटै परीक्षा दिन मिल्ने ब्यवस्था मिलाएको छ

परीक्षा संचालन गर्ने नाममा कलिला बालमस्तिष्कमा डर र त्रास उत्पन्न गराएको, परीक्षालाइ हाउगुजी बनाइदिएको तथा अभिभावकहरुलाइ आर्थिक र मानसिक तनाव थपिदिएकाले यसले गम्भीर असर गर्ने शिक्षक सत्याधर कँडेलले बताए । विद्यार्थीहरुले अन्यत्र विद्यालयमा गएर परीक्षा दिन नमान्ने, टाढा लगेर परीक्षा दिन लगाउदा अभिभावकलाइ खर्च ब्यवस्थापनमा समेत समस्या परेको विषयमा गुनासो आउन थालेको छ ।

स्थानीय सरकारहरुले अधिकार पाएपनि अधिकारको गलत प्रयोग गरिरहेको सरोकारवालाहरुको भनाइ छ । नीलकण्ठ क्याम्पसका उपप्राध्यापक डाक्टर मुरारि अधिकारीले भने, ‘स्थानीय सरकारले एस इ इ परिक्षाको नक्कल गरेर स्थानीय सरकारको दम्भ र अहमता देखाएका हुन, यसले कलिला बालबालिकाहरुलाइ कस्तो असर गर्छ भन्ने तर्फ पनि जनप्रतिनिधले ध्यान दिनु जरुरी छ ।’

बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख हरी डल्लाकोटीले एस इ इ को लागि अनुभव गराउन र परीक्षालाइ गुणस्तरीय बनाउन फरक विद्यालयमा केन्द्र तोकेर परीक्षा संचालन गरेको बताए । उनले भने, ‘भोली १०, ११ र १२ मा यसैगरि परीक्षा दिने हुन् उनीहरुलाइ अनुभव पनि त हुन्छ । यसरी परीक्षा संचालन गर्दा आधारभुत तहको सिकाइमा पनि गुणात्मक विकास हुने अपेक्षा छ ।’

२०७६ फागुन २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: