
२३ पुस , हेटौडा –
हेटौंडा उपमहानगरपालिकाले धुर्मुस–सन्तुली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ३० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकम मंगलबार उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र सहअध्यक्ष कुन्जना घिमिरेलार्ई हस्तान्तरण गरेका थिए ।
उपमहानगरपालिकाले रंगशाला निर्माण गर्न उक्त रकम सहयोग गर्ने घोषणा गरेको थियो । करिब ३ अर्ब रुपैयाँ लागतमा निर्माण गर्न लागिएको रंगशालानिम्ति सरकारीस्तरबाट सहयोग भएको पहिलो हो ।
तीनै तहका सरकारले रंगशाला निर्माण गर्न सहयोगको आश्वासन दिए पनि सहयोग रकम भने हस्तान्तरण गरेका छैनन् । तर, देशभरका ७ सय ५३ वटा स्थानीय तह, सात प्रदेश सरकार र संघीय सरकारमध्ये पहिलो पटक हेटौंडा उपमहानगरपालिकाले सरकारीतर्फको सहयोग हस्तान्तरण गरेको फाउन्डेशनका अध्यक्षकट्टेलले बताए ।
अहिलेसम्म रंगशालाको निर्माणको काम व्यक्तिगत र संघसंस्थाको सहयोगबाट मात्र भएको छ । तर, रंगशाला निर्माणको काम तीव्र गतिमा अगाडि बढाउन सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको मेयर महतले बताए । ‘सरकारले गर्नुपर्ने काम कलाकार गर्न थाल्नुभएको हो,’ मेयर महतले भने, ‘त्यसैले सबैले सहयोग गर्नुपर्छ ।’ सबै तहका सरकारको सहयोग यही गतिमा हुने हो भने तोकिएको समयअगावै काम सकिने अध्यक्ष कट्टेलले दाबी थियो ।
पहिलोपल्ट सरकारी रकम पाएकामा भावुक हुँदै अध्यक्ष कट्टेलले भने, ‘धेरै आश्वासन आएका छन् । तर सहयोग आएको छैन । सरकारी सहयोग रकम हस्तान्तरण गर्ने पहिलो सरकारी निकाय हेटौंडा उपमहानगरपालिका हो । अहिले काम सुरुआती समयमा धेरैलाई विश्वास भएको होला तर, काम देखिएपछि धेरैले सहयोग गर्नुहोला । यो सहयोग महत्त्वपूर्ण हुनेछ ।’
चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसरभित्रको शान्तिचोकस्थ्ति २० विघा ६ कठ्ठा क्षेत्रफलमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक रंगशाला निर्माण गर्न लागिएको छ ।
नेपाली मौलिकतासहित निर्माण हुन लागेको रंगशाला स्तुपा आकारको हुनेछ भने क्रिकेट मैदान फुलेको कमल फूल आकारमा बन्नेछ । जसले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका खेलाडीलाई मुस्कुराउँदै स्वागत गर्नेछ । नारायणी नदी र सुन्दर हिमालको दृश्य हेर्न सकिने रंगशाला नेपालको पहिचानको रंगशाला बन्नेछ ।
२०७६ पुस २३ गते प्रकाशित