Sat. Mar 15th, 2025

काँग्रेसको १४ औं महाधिवेशन २०७७ फागुनमा


११ पुस, काठमाडौँ


वरिष्ठ नेता रामचन्द्र पौडल समूहको बहिस्कारका बीच बसेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले १४औं महाधिवेशनको मिति तोकेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले बहुमतका आधारमा आफ्नो म्याद एक वर्ष थप गरेको छ । र, १४ औं महाधिवेशन २०७७ फागुन ७, ८ ९ र १० गते गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

विधानमै भएको व्यवस्थाअनुसार सभापति देउवाले आफू नेतृत्वको केन्द्रीय समितिको कार्यकाल ०७७ फागुन १९ सम्म थपेका हुन्। महाधिवेशन गर्न र संक्रमणकालको अवस्थालाई हेरेर कार्यकाल एक वर्ष थपिएको हो।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत पौडेल पक्षका केन्द्रीय सदस्य उपस्थित थिएनन्। वरिष्ठ नेता पौडेल पक्षले महाधिवेशनको कार्यतालिका माग गर्दै मंसिर २६ गतेदेखि निरन्तर छ वटा केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए।

पार्टी केन्द्रीय कार्यालय सानेपामा देउवा पक्षका केन्द्रीय सदस्य मात्र सहभागी रहेको केन्द्रीय समिति बैठक चलिरहँदा पौडेल पक्षका केन्द्रीय सदस्यहरू पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा छलफल गरिराखेका थिए। पौडेल पक्षले अर्को वर्ष मंसिर पहिलो साता महाधिवेशन गर्ने गरी सभापतिले कार्यतालिका ल्याउनुपर्ने अडान राखेका थिए।

केन्द्रीय समितिले सभापति देउवाले गरेको प्रस्तावअनुसार नै भातृ संस्था नेपाल तरूण दलको म्याद छ महिना थप्ने निर्णय पनि गरेको छ। जितजंग बस्नेत नेतृत्वको तरूण दलको म्याद गत कात्तिकमा सकिएको थियो। ९५ सदस्यीय हुनुपर्ने तरूण दल केन्द्रीय समितिमा चार जना मात्रै छन्।

२०७६ पुस ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: