
११ पुस, धादिङ –
धादिङ जिल्लाबाट १३ औं दक्षिण एसियाली खेलकुद ९ साग मा पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ । राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्य समिति धादिङले शुक्रबार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले सम्मान गरेका हुन् ।
सागमा सहभागी ज्वालामुखी गाउँपालिकाकी सन्तोषी श्रेष्ठले १० हजार मिटर दौड, सिद्धलेक गाउँपालिकाकी सोनी गुरुङले ट्रायथोलन र त्रिपुरासुन्दरी गाउँपालिकाकी सञ्जिला तिमल्सिनाले १७ देखि २३ वर्षको उमेर समुह अन्र्तगत पुन्सेमा स्वर्ण जितेका थिए ।
त्यस्तै ज्वालामुखि गाउँपालिका आशिष दुवाडीले बक्सिङ (९१ केजी तौल समुह सुपर हेभी), नेत्रावती डब्जोङ गाउँपालिकाका गणेश प्रधानले बक्सिङ (८१ केजी तौल समुह लाईट हेभी) र गल्छी गाउँपालिकाका लक्ष्मण मल्लले ट्रायथोलन अन्तरगत दुवाथोलनमा रजत पदक जितेका थिए । गंगाजमुना गाउँपालिकाका दिपक अधिकारीले १० हजार मिटर दौड, सोही पालिकाका हरि रिमालले ५ हजार मिटर दौड र त्रिपुरासुन्दरी गाउँपालिका पवन श्रेष्ठले जुडो तर्फ कास्य जितेका थिए ।
धादिङ जिल्लाबाट ११ जना खेलाडीहरु सहभागी मध्ये तीन जनाले स्वर्ण, तीन जनाले रजत र तीन जनाले कास्यपदक जितेका थिए । विजेता खेलाडीहरुले जिल्लाको मात्र नभई राष्ट्रकै गौरव बढाउन सफल भएको भन्दै खेलाडीको सम्मान गरिएको राष्ट्रिय तेक्वान्दो संघ धादिङका अध्यक्ष अमृत तामाङले बताए ।
२०७६ पुस ११ गते प्रकाशित