Mon. Mar 10th, 2025

धादिङसहित ६ जिल्लाका ११ स्थानमा सहकारी बजार स्थापना गरिने

फाइल फोटो


११ पुस, धादिङ –


तरकारीको पकेट क्षेत्र धादिङमा सहकारी बजार स्थापना गरिने भएको छ । भूमि व्यवस्था, सहकारी गरिबी निवारण मन्त्रालयले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को सहयोगमा संकलन केन्द्र र सहकारी बजार स्थापना गर्न लागिएको हो ।

जिल्लाको धुनीबेसी नगरपालिका, गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा स्थापना गरिने बताइएको छ । तरकारी तथा फलफूलको बिक्रीमा बिचौलिया अन्त्य गर्न धादिङसहित ६ जिल्लामा ११ सहकारी बजार स्थापना गर्न लागिएको हो ।

फलफूल र तरकारी उत्पादन हुने नुवाकोट, धादिङ, काभ्रे, मकवानपुर, चितवनमा संकलन केन्द्र तथा तरकारी बजार र काठमाडौं उपत्यकामा चार ठाउँमा तरकारी बजार स्थापना हुने भएको छ।

सहकारी बजार विकास कार्यक्रम (सीएमडीपी) मार्फत पहिलोचरणमा प्रदेश ३ अन्तर्गतका चितवन, मकवानपुर, धादिङ, नुवाकोट, काभ्रे र ललितपुर जिल्लामा सहकारी बजार स्थापना हुन लागेको हो। १ अर्ब १४ करोड लागतमा सहकारी बजार स्थापना हुँदै छ। त्यसमध्ये ५१ करोड सरकारले र २० करोड यूएनडीपीले खर्च गर्नेछन्। नपुग थप रकम सरकार र यूएनडीपीले लगानी गर्ने छन्। बजार व्यवस्थापन भइसकेपछि यस कार्यक्रमले तरकारी र फलफूलको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव अननतकुमार बस्नेतले बताए ।

चितवनमा क्षेत्रीय र काठमाडौंमा केन्द्रीय बजार स्थापना हुन हुनेछ। तरकारी बजारका लागि १८ स्थानीय तहका ७२ वटा सहकारी छनोट भएका छन्। पकेटक्षेत्रका रूपमा ती संस्था छनोट गरिएको हो। सहकारीका सदस्यले उत्पादन गरेका तरकारी तथा फलफूल सहकारीले संकलन केन्द्रसम्म लैजान्छन्। अधिकांश जिल्लामा बजार निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

बजारमा चिस्यान केन्द्र, प्रयोगशाला, लेभलिङ, प्याकेजिङ, ग्रेडिङको काम हुन्छ। यस्तै ट्रली, ढुवानीका साधानबाट तरकारी तथा फलफूल ओसारपासर हुनेछ। बजार सञ्चालन सहकारी तथा स्थानीय तहले व्यवस्थापन समिति बनाएर गर्ने छन्। किसानले उत्पादन गरेका तरकारी र फलफूलले मूल्य पाउन नसकेपछि मन्त्रालयले किसानको उत्पादनको बजार सुनिश्चित गर्नका लागिका लागि बजार स्थापना गरेको हो।

२०७६ पुस ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: