Tue. Mar 11th, 2025

काठमाडौं म्याराथनमा ५ हजार दौडने

४ पुस , काठमाडौ –

काठमाडौं अन्तर्राष्ट्रिय म्याराथनमा ५ हजारभन्दा बढी दौडिने भएका छन् । प्रो स्पोर्ट्सको आयोजनामा शनिबार हुने प्रतियोगिताको १३ औं संस्करणले नेपालको पर्यटन क्षेत्रलाई विश्वसामु चिनाउने अपेक्षा आयोजकको छ ।

आयोजक प्रमुख नीलेन्द्रराज श्रेष्ठले ३५ सय जनाले काठमाडौं म्याराथनमा दौडन आफ्नो नाम दर्ता गरिसकेका छन् । दर्ता मिति शुक्रबार साँझसम्म छ । दर्ता भएकामा ५० विदेशी खेलाडी छन् । उनले यसपालि ५ हजार जतिले दौडिने सम्भावना रहेको बताए ।

प्रतियोगितामा म्याराथन, हाफ म्याराथन, ५ किमि खुला, ५ किमि मास्टर, विद्यार्थी, ह्विलचेयरमा महिला र पुरुषको इभेन्ट हुनेछ । त्यस्तै कर्पोरेट र फेमेली रन पनि हुनेछ । विजेताको पुरस्कार राशिमा गत वर्षकै यथावत राखिएको छ । त्यसअनुसार म्याराथनमा पहिलो तीन स्थानका विजेता पुरुष र महिलाले क्रमशः ५०, २० र १५ हजार रुपैयाँ पाउने छन् ।

त्यस्तै हाफ म्याराथनमा पहिलो तीन स्थान हात पार्नेले २०, १३ र ७ हजार, ५ किमि खुला र मास्टरले १०, ६ र ४ हजार, ५ किमि छात्रछात्रा र ह्विलचेयरतर्फ ५, ३ र २ हजार, फेमेली रनतर्फ १०, ५ र ३ हजार पाउने छन् । कर्पोरेट हाफ म्याराथनतर्फ रिले हुनेछ । त्यसमा चार जनाले मिलेर दौड पूरा गर्नुपर्नेछ । त्यसको शीर्ष तीन स्थान हात पार्नेले २०, १० र ५ हजार पाउने छन् ।

यसपालि काठमाडौं म्याराथनलाई प्रदेश ३ सरकारले साथ दिएको छ । ‘प्रदेश ३ को सरकारले काठमाडौं म्याराथनको स्वामित्व ग्रहण गरेको छ, आगामी दिनमा पनि प्रदेश ३ सरकारको साथ रहनेछ,’ प्रदेश ३ का पर्यटनमन्त्री अरुण नेपालले भने,‘हाम्रो देशको समृद्धिनिम्ति पर्यटन क्षेत्र निकै महत्त्वपूर्ण छ । त्यसमा यस म्याराथनलाई देशको पर्यटनसँग जोड्नुपर्छ ।’

आयोजक प्रमुख श्रेष्ठले विदेशमा बस्दा सहरको नाममा ठूला म्याराथन हुने गरेको त्यसबाट प्रभावित भएको जनाउँदै उनले भने, ‘एनआरएन म्याराथनबाट सुरु गरेको प्रतियोगिता अहिले १३ औं संस्करणमा आइपुगेको छ र अहिले पनि हामी सिकिरहेका छौं । जनताप्रति स्वास्थ्य चेतना बढाउनु यस दौडको मुख्य लक्ष्य हो । अर्को लामो दूरीका धावकलाई यो अवसरका रूपमा पनि छ । विदेशी धावकहरू दौडिने मात्र नभएर घुम्न पनि आउने भएकाले नेपालको पर्यटन क्षेत्रले त्यसलाई सदुपयोग गर्नुपर्छ ।’

प्रदेश ३ सरकार र काठमाडौं महानगरपालिकाले प्रतियोगितालाई ५–५ लाख तथा मध्यपुर थिमि नगरपालिकाले १ लाख सहयोग गरेको श्रेष्ठले बताए । ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले व्यवस्थापकीय सहयोग गरेका छन् ।

प्रो स्पोर्टसकी कार्यकारी निर्देशक वागमती राईले विदेशी खेलाडीमा युरोप, अमेरिका, जापान र भारत लगायतका देशका धावकलाई एजेन्टमार्फत प्रतियोगिताबारे जानकारी दिएको बताइन् । त्यसमध्ये एक विदेशी जापानका काजुएकी नागानुमा हुन् । उनी सन् १९८४ देखि ८६ सम्म नेपालको प्रशिक्षक थिए । त्यसक्रममा उनले वैकुण्ठ मानन्धर, पुष्पराज ओझा, आमिरी यादव, सुशील नरसिंह राणालगायतलाई प्रशिक्षण दिएका थिए । हरेक वर्ष काठमाडौं म्याराथनमा सहभागी नागानुमाले यसपल्ट हाफ म्याराथन दौडने छन् ।

२०७६ पुस ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: