Mon. Mar 10th, 2025

फुटबलमा लगातार स्वर्ण, नेपालले यसअघि खेलेका ५ फाइनल

२५ मंसिर , काठमाडौ –

ठूलो अवसर । उत्तिकै ठूलो खेल । यस्तो बेला अधिकांश समय फुटबल त्यसलाई सुहाउने गरेर राम्रो नहुन सक्छ । १३ औं दक्षिण एसियाली खेलकुद ९साग० को पुरुष फुटबल फाइनलको कथा यस्तै रह्यो । नेपाललाई आफ्नै घरेलु दर्शक अगाडि खेल्नुपर्ने दबाब, त्यसमाथि यसपल्टको सागकै अन्तिम प्रतिस्पर्धा । भुटानका लागि त यो कुनै पनि ठूलो प्रतियोगिताको फाइनल खेलेकै यो पहिलोपल्ट हो । अझ दुवै टिमले एक सातादेखि लगातार खेलिरहेका थिए ।

भुटानविरुद्ध निर्णायक गोल गरेका नेपालका सुनील बल जर्सी फुकालेर पोज दिँदै । स्वर्ण जितेपछि प्रशिक्षक बालगोपाल महर्जनलाई उफार्दै । तस्बिर स् किरण पाण्डे, केशव थापारकान्तिपुर

तर यी सबैको त्यतिबेला खासै अर्थ पनि हुन्न, जति बेला टिमले स्वर्ण जित्छ भने । नेपाली यू–२३ राष्ट्रिय टिमले दशरथ रंगशालामा तय गरेको यात्रा यस्तै रह्यो । नेपालले भुटानलाई पराजित गर्दै स्वर्ण पदकमा आफ्नो नाम लेखायो र यसैक्रममा केही गर्विलो कीर्तिमान पनि राख्यो । जस्तो– नेपालले साग इतिहासमै सर्वाधिक चारपल्ट स्वर्ण जितेको कीर्तिमान बराबरी गरेको छ । पाकिस्तानको नाममा पनि चारपल्ट पुरुष फुटबलमा स्वर्ण जितेको कीर्तिमान छ ।

नेपाल सन् १९८४, १९९९ र २०१६ को विजेता पनि हो । यस्तै नेपाल भारत र पाकिस्तानपछि लगातार दुई स्वर्ण जित्ने तेस्रो टिम पनि बनेको छ । नेपालले तीन वर्षअगाडि पुरुष फुटबलमा जितेको स्वर्णको रक्षा पनि गरेको छ । ‘हामी यो स्वर्णको वास्तविक हकदार थियौं । हामीले प्रतियोगितामा कुनै पनि खेल गुमाएनौं । हामीले प्रतियोगितामा सहभागी सबै पाँच टिमको तुलनामा सबैभन्दा राम्रो फुटबल खेल्यौं । त्यसैले हामीले स्वर्ण जित्यौं,’ मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भने ।

नेपाली टिमको स्वर्णको यात्राको मुख्य कारण लामो र राम्रो तयारी रहेको दाबी पनि रह्यो, प्रशिक्षक महर्जनको । उनले भने, ‘हामी पछिल्लो चार महिनादेखि लगातार तयारीमा थियौं । यसक्रममा सबैले उत्तिकै योगदान दिए । म विशेषतस् मेरा सहयोगी प्रशिक्षकलाई धन्यवाद दिन चाहन्छु । यस्तै सबै खेलाडीले कठिन मिहिनेत गरेर खेले । नेपालले पाँच खेल खेलेकामा चारमा विजयी रहेर अपराजित रहनु कम्तीको उपलब्धि होइन ।’

यसपल्टको सागमा नेपालले नै पहिलो स्वर्ण जितेको थियो भने अन्तिम स्वर्ण पनि नेपालकै रह्यो, पुरुष फुटबलबाट । भुटानी प्रशिक्षक पेमाले टिमको फाइनलसम्मको यात्रा अविस्मरणीय रहेको बताए । उनले भने, ‘भुटानी फुटबलका लागि अहिलेको यात्रा सबैभन्दा सम्झनालायक रह्यो र हामी सबै यसमा खुसी छौं । हामीले पनि प्रतियोगितामा सबैको मन जित्ने खेल खेल्यौं । हाम्रो टिमलाई समर्थन र माया गर्ने सबैलाई हाम्रातर्फबाट धन्यवाद छ ।’

नेपालले १७ औं मिनेटमा अग्रता लिएको थियो । भुटानले नेपालको थ्रोलाई राम्रोसँग क्लियर गर्न नसकेपछि प्राप्त अवसरमा अभिषेक रिजालले नजिकबाट सजिलै गोल गरे । यो अभिषेकको प्रतियोगितामा तेस्रो गोल हो र उनी नेपालका लागि सबैभन्दा प्रभावशाली खेल प्रदर्शन गर्ने खेलाडी रहे । भुटानले गरेको एक गोल भने कप्तान चेन्चो ग्याल्चेनको नाममा रह्यो । उनले ३७ औं मिनेटमा दुई नेपाली डिफेन्डरको बीचमा रहेर गोल गरे र आफू अब्बल दर्जाको खेलाडी रहेको प्रमाण पेस गरे ।

२०७६ मंसिर २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: