Mon. Mar 10th, 2025

महिला फुटबल फाइनल आज स् ‘आइस ब्रेक’ को दाउमा नेपाल

२३ मंसिर , पोखरा –

लिग चरणमा माल्दिभ्स विरुद्ध ह्याट्रिक गरेर अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएपछि स्ट्राइकर सावित्रा भण्डारीले दुई हत्केला पड्काउँदै हुंकार छाडेकी थिइन्, ‘अब भारतलाई देखाउने बेला आएको छ । उसलाई हाम्रै भूमिमा हराउँछौं ।’

माल्दिभ्सलाई ३–० ले हराउँदा नेपाली महिला फुटबलका प्रशिक्षक हरि खड्काले भनेका थिए, ‘सबै अवसर सदुपयोग गर्न सकेनौं। केही अवसर भारतसँगको खेललाई साँचेर राखेका छौं।’ १३ औं सागको लिग चरणमै शनिबार भारतसँग नेपाल १–० ले पराजित भयो।

पोखराको मैदानमा चार देश महिला फुटबलमा भिडे। श्रीलंका र माल्दिभ्सले एक खेल पनि जित्न नसकेपछि भारत र नेपाल लिग चरण सकिनुअगावै फाइनल पुगेका थिए। समूह विजेता र उपविजेता छुट्याउन शनिबार दुई देशबीच खेल भयो। खचाखच दर्शकबीच भएको खेललाई धेरै ‘प्रिभ्यू म्याच’ को रुपमा हेरे। आत्मविश्वासी देखिएको भारतले जित आफ्नो पक्षमा पार्‍यो। भारतसँग पराजित भएपछि कुनैबेलाका स्टार फुटबलर खड्काले भने, ‘अहिले पनि केही अवसर सदुपयोग गर्न सकिएन, अर्को खेलमा यस्तो गल्ती दोहोरिँदैन।’

उनले टिम सम्हालेपछिको यो दोस्रो हार थियो। उनी आएपछि शनिबारको खेलसँगै नेपालले भारतसँग चारपल्ट खेल्यो। दुईमा नेपाल पराजित भयो। एकमा भारतलाई हरायो र एकमा बराबरी खेल्यो। भारतमा भएको हिरो महिला गोल्डकपमा भारतलाई २–१ ले हराउँदै नेपाल फाइनल पुगेर म्यान्मारसँग पराजित भएको थियो। त्यसअघि म्यानमारमा भएको ओलम्पिक छनोटमा नेपालले भारतसँग १–१ को बराबरी खेल्यो। गत साफ च्याम्पियनसिपमा घरेलु मैदानमै भारतसँग नेपालले पराजय ब्यहोर्‍यो। साफका ५ संस्करण भारतले जित्दा ४ पल्ट नेपाल फाइनल पुगेको छ। दक्षिण एसियाको महिला फुटबलमा भारत र नेपाल दुई ‘जायन्ट’ टिम हुन्।

साग सुरुआतको ३२ वर्षे इतिहासमा नेपालले तेस्रोपल्ट महिला फुटबलमा सहभागिता जनाएको छ। बंगलादेशमा भएको ११ औं सागमा पहिलोपल्ट महिला फुटबल समावेश गरिएको थियो। १२ औं साग भारतको सिलोङ र गुहावटीमा भयो। दुवैपल्ट नेपाल र भारत फाइनलमा पुगे। दुवैपल्ट भारतले जित्यो। ढाकामा ३–१ ले भारतसँग पराजित भएको नेपालले सिलोङमा अन्तर कम गर्दै २–१ बनायो। फिफा बरियतामा भारत नेपालभन्दा झण्डै दोब्बरले अगाडि छ। भारत ५७ औं स्थानमा हुँदा नेपाल १ सयौं स्थानमा छ।

२०७६ मंसिर २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: