१३ मंसिर, धादिङ
नेपाली काँङग्रेसका युवा नेता तथा केन्द्रिय सदस्य गगन कुमार थापाले कालापानी क्षेत्रमा भारतिय हस्तपक्षेप हटाएरै छाड्ने बताएका छन् । नेपालको कालापानी र लिपुलेकमा भारतले सीमा अतिक्रमण गरेकाले पुर्खाले लडेर नालापानी जोगाएको सम्झना गर्दै भारतले अत्याचार गरिरहे अवको पुस्ताले लडेर कालापानी जोगाउने बताएका हुन् ।
धादिङ कृषि पर्यटन तथा ब्यापार मेलालाइ सम्वोधन गर्न धादिङ आएका बेला थापाले सीमा फिर्ता गराउनको लागि सरकारलाइ सधै काङग्रेसले साथ दिने र सरकारले खुट्टा कमाए त्यसविरुद्ध पनि आन्दोलन गर्ने बताएका हुन् । थापाले भने, ‘राष्ट्रियताको विषयमा कुनैपनि दल र पार्टी भन्ने कुरो हुँदैन कुटनितिक पहलबाट सीमा फिर्ता हुँदैन भने सीमा फिर्ता गराउनको लागि कालापानीमै लड्न तयार छौँ ।’
मेलाको उद्घाटन सत्रको प्रमुख अतिथि समेत रहेका थापाले कार्यक्रमलाइ सम्वोधन गर्दै सम्पुर्ण नेपालीहरु देश जोगाउनको लागि चासो र चिन्ता राखिरहेका बेला धादिङे जनताहरु भने बुढिगण्डकी आयोजना बनाउनको लागि लड्नुपर्ने अवस्था रहेको बताए । ‘पहिले बन्ने अवस्था बनाउनु प¥यो, त्यसपछि मुआब्जा र क्षतिपुर्तिको कुरा आउँछ ।’ थापाले भने, ‘बुढीगण्डकी आयोजना नबनाउने नियतले नै बदनाम भएको कम्पनीलाइ सरकारले बुढीगण्डकी आयोजना जिम्मा लगाएको छ, त्यस विरुद्ध धादिङे जनताहरु एकजुट भएर उठ्नुपर्छ ।’
स्वदेशी लगानीमा बनाउने पनि भन्ने र फेरी विवादास्पद कम्पनीलाइ पनि जिम्मा लगाउने प्रवित्तिले सरकार नै बुढीगण्डकी आयोजनाको विपक्षमा हो कि भन्ने शंका उत्पन्न भएको थापाले बताए ।
फरक प्रसङगमा बोल्दै नेता थापाले देश रेमिट्यान्सको भरमा मात्र चलिरहेकाले अव देशमै उद्योग कलकारखाना र रोजगारीको बातावरण बनाउनुपर्ने बताए । त्यसका लागि सम्पुर्ण उद्योग ब्यवसायी र सरकार नै लागिपर्नु पर्ने बताए ।
शिखरिणी कृषि तथा पर्यटन सहकारी सस्थाको आयोजनामा भएको महोत्सव आगामी २३ गतेसम्म चल्ने छ । महोत्सवमा घरेलु हस्तकला, कृषिजन्य प्रदर्शनी ब्यापार मेला तथा खानाका स्टलहरु रहेका छन । महोत्सवमा १७ करोड बराबरको कारोवार हुने अपेक्षा गरिएको छ ।
२०७६ मंसिर १३ गते प्रकाशित