Wed. Nov 27th, 2024

सबै बालीमा किराको प्रकोप

४ मंसिर, काठमाडौ –

सरकारी तथ्यांकअनुसार धान भित्र्याउने बेला तराईमा करिब २० हजारभन्दा बढी हेक्टर धानबालीमा फौजी किराले असर गर्‍यो । ज्ञान केन्द्र झापाले करिब २२५ बिघामा फड्के किरा देखिएको जानकारी दिएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार गुल्मी, बाँकेलगायत जिल्लाका करिब ४ सय हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको मकैमा फौजी किरा देखिएको छ ।

यी केही उदाहरण मात्रै हुन् । धानबाहेक मकै, गहुँ, कोदो, कफीमा समेत किराको प्रकोप बढ्दै गएको छ । ‘विभिन्न क्षेत्रबाट प्राप्त रिपोर्टिङअनुसार फाटफुट रूपमा कुनै न कुनै जिल्लामा असर गरेको छ,’ केन्द्रका कार्यकारी प्रमुख सहदेवप्रसाद हुमागाईले भने, ‘तथ्यांक संकलनमा समस्या छ, यकिन तथ्यांक आइसकेको छैन ।’

केन्द्रका अनुसार यो वर्ष देखिएको प्रकोप अर्को वर्ष पनि दोहोरिने सम्भावना रहन्छ । प्रकोप नियन्त्रण गर्न अहिलेदेखि नै तयारी गर्नुपर्ने हुमागाईले बताए । वातावरणरमौसमको प्रभावले पनि किरा सक्रिय हुन्छ । फौजी किराले मकै, तरकारी, कोदो, गहुँ, धानलगायतका बालीमा असर गर्छ । फड्के किराले धानमा मात्रै असर गर्छ । फड्के किरा २०७४ मा चितवनको बछ्यौली गाउँपालिकामा देखिएको थियो । त्यसबेला फड्केले ठूलो नोक्सानी गरेको थियो । झापा ज्ञान केन्द्र प्रमुख नीलकमल सिंहका अनुसार झापामा देखिएको खैरो फड्के हो । सिंहले भने, ‘अन्तिम अवस्था भएकाले विषादीले पनि काम गर्दैन ।’ उनका अनुसार पानी भएको अवस्थामा फड्के लाग्दैन । यस वर्ष पानी कम भएकाले समस्या देखिएको बताए । केन्द्रका अनुसार किरा जाडोमा त्यति सक्रिय हुँदैन । वसन्तबालीमा किराले पुनस् सताउन सक्ने केन्द्रले जनाएको छ । ‘फड्के कहिले चितवन, कहिले झापामा देखिएको छ,’ केन्द्रका कार्यकारी प्रमुख हुमागाईले भने, ‘सन्तुलित मात्रामा रासायनिक मलको प्रयोग नहुँदा विभिन्न प्रकोप देखियो ।’

कृषिविज्ञ कृष्ण पौडेलले समग्र खेती प्रणालीको समस्याका कारण किराको प्रकोप देखिएको बताए । अहिले देखिएको प्रकोप केही जिल्लामा विषादी छर्केर तत्काल नियन्त्रण भए पनि दीर्घकालीन उपाय नभएको बताए । ‘यसले किरा आइराख्ने वातावरण बन्ने देखियो । नियन्त्रण गर्न सरकारबाट पहलकदमी देखिएन, कृषि मन्त्रालयले संवेदनशील नै भएन,’ पौडेलले भने, ‘विकासे मलले गर्दा प्रतिरोधात्मक क्षमता नै भएन । किरा रोक्न सीमा क्षेत्रमा घाँस लगाउनुपर्थ्यो । त्यो पनि भएन ।’ खेती प्रणालीलाई उपयुक्त नबनाए निरन्तर समस्या हुने उनले बताए । केन्द्रका अनुसार समाधानका लागि सुरुदेखि नै प्याकेज हुन्छ । धानको जात, सन्तुलित मलखाद दिनुपर्छ । नाइट्रोजन, फोस्फोरस, पोटास उचित मात्रामा प्रयोग गर्नुपर्छ । ‘तर, किसानले युरिया मात्रै प्रयोग गर्छन् । युरिया भनेको नाइट्रोजन मात्रै हो,’ प्रमुख हुमागाईले भने, ‘नाइट्रोजन मात्रै दिँदा किराको आक्रमण बढी हुन्छ ।’ फड्के किरा लाग्दा समाधान गर्न तत्काल धान काट्नुपर्ने बताए ।

२०७६ मंसिर ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: