Thu. Feb 27th, 2025

पीडा बिर्सेर बाली भित्र्याउने चटारोमा भूकम्पपीडित

gahu1
भक्तपुर – भूकम्पले बस्ती नै तहसनहस बनाएको एक महिनापछि भक्तपुरका किसानलाई यतिखेर बाली भित्र्याउने चटारो परेको छ ।

विगतका वर्षमा यतिखेर आलु, गहुँ भित्र्याएर धानको बीउ राख्ने बेलामा यसवर्ष भने किसान भर्खर आलु र गहुँ भित्र्याउन थालेका छन् । गहुँ पाक्ने बेलामा आएको भूकम्पले उठिबास भएपछि यहाँका किसानले बाली भित्र्याउन समेत चासो दिएका थिएनन् । भूकम्प गएको एक महिनापछि स्थिति सहज बन्दै आएका कारण पीडा बिर्सेर बाली भित्र्याउन थालेका हुन् ।

गहुँ काटेपछि भित्र्याउन ठाउँ नभएपछि किसानले अस्थायी शिविरमै राख्न थालेका छन् । एकातिर एउटै पालमुनि ३० जनासम्म बस्नुपर्ने पीडा अर्कोतर्फ अन्न पनि राख्नु पर्दा साह्रै सकस भएको उनीहरू बताउँछन् । भक्तपुर नगरपालिका गोल्मढी घरभई महेश्वरी खेल मैदानमा रहेको अस्थायी शिविरमा बस्दै आउनु भएकी आशावेटी खायमली घर भत्किएपछि गहुँ राख्न समस्या परेको बताउनुहुन्छ । “पीडा बिर्सेर कामकाज गरिरहेका छौँ” उहाँले भन्नुभयो ।

नागपोखरीमा रहेको घर भत्किएपछि शिविरमा आश्रय लिएका न्हुच्छेरत्न सायजुको गुनासो पनि त्यस्तै छ । “मन नै नलागे पनि झर्न थालेपछि गहुँ काटेर ल्याएको हुँ” उहाँले भन्नुभयो । खेतबाट गहुँ काटेर ल्याए पनि राख्ने ठाउँ नभएको र पानी पर्दा अन्न कसरी जोगाउने भन्ने समस्या भएको उहाँले बताउनुभयो ।

खेतभरी झुलेको गहुँसमेत खुसी भएर भित्र्याउन पाएनन् यसवर्ष यहाँका किसानले । भक्तपुर इनाचोमा रहेको घर भूकम्पले भत्काएपछि महेश्वरीको अस्थायी शिविरमा बसेका लक्ष्मीप्रसाद कुस्मादेखि सिर्जना कुस्मासम्मको गुनासो एकनासको छ । एउटै पालमा पाँच परिवारका २५ जनासँगै बसेका उनलाई खेतबाट झारेर ल्याएको बाली राख्ने ठाउँ नहुँदा समस्या परेको छ । “खेतबाट गहुँ त ल्याइयो, मान्छे बस्ने ठाउँ त छैन, यो बाली कसरी भित्रयाउनु खै रु’ उहाँले भन्नुभयो ।

पानी पर्दा भिजेरै कुहिएला भन्ने डर किसानलाई रहेको छ । कमल विनायक सरस्वती विद्यागृहको प्राङ्गणमा शिविरमा बस्दै आएकी लक्ष्मी केशरी हेङ्गजुले भने आफन्तको घरमा एउटा कोठा भाडामा लिएर अन्न राख्ने जोहो गर्नुभएको छ । उहाँ भन्नुहुन्छ—‘हामी त यही पालमा बस्छौ, पाकेको बाली भित्र्याउने घर नभएपछि आफन्तको घरमा कोठा भाडामा लिएर राख्न थालेका छौँ ।”

अस्थायी शिविरदेखि गाउँगाउँमा पालमा बस्ने किसानको समस्या पनि यस्तै नै छ । ओत लाग्न पालको टहरा बनाए पनि बाली भित्र्याउने ठाउँ नभएपछि यतिखेर किसान थप मर्माहित भएका छन् । रासस

About The Author

अन्य समाचारहरु: