
२ मंसिर, धादिङ–
मुआब्जा नतोकेको भन्दै रुष्ट बनेका बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित स्थानीय र स्थानीय जनप्रतिनिधिले आन्दोलनको घोषणा गरेका छन् । आयोजनाको डुबान क्षेत्रमा पर्ने धादिङको आरुघाट र खहरे बजार, गोरखाको आरुघाट र आर्खेतको मुआब्जा निर्धारण गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका हुन् । १२ सय मेगावर्टको जलविद्युत आयोजना निर्माणका लागि धादिङको आरुघाटको विशालनगर र खहरे, गोरखातर्फको आरुघाट र आर्खेत बाहेकका अन्य प्रभावित क्षेत्रलाई मुआब्जा निर्धारण गरि वितरण समेत गरिसकेको छ ।
आन्दोलनको कार्यक्रम अन्र्तगत मंसिर ४ गते सांसदहरुलाई ध्यानाकर्षण र छलफल, मंसिर ५ गते जिल्ला प्रशासन कार्यलय धादिङ घेराउ, मंसिर ६ गते जिल्ला प्रशासन कार्यालय गोरखा घेराउ गर्ने कार्यक्रम तय गरिएको बुढिगण्डकी सरोकार समिति गोरखा, धादिङका अध्यक्ष दिनेशकुमार ढकालले बताए ।
प्रमुख जिल्ला अधिकारी फेरिए पिच्छे स्थलगत अनुगमन र अन्तरक्रिया गर्ने डुवान पीडिततलाई झस्काउने काम मात्र गरेको प्रमुख जिल्ला अधिकारीलाई जनप्रतिनिधिहरुको आरोप छ । बजार क्षेत्रमा मुआब्जा तोक्न आलटाल गरेको भन्दै सो क्षेत्रका प्रभावितहरुले पटक पटक प्रशासन गुहादै आइरहेका छन् । विगत ५ वर्षदेखि जग्गा रोक्का राखेर हालसम्म पनि मुआब्जा तोक्न अलमल गरिरहेको प्रभावितको गुनासो छ ।
आयोजनाको डुबान क्षेत्रमा पर्ने अन्य जग्गाको मुआब्जा साढे दुई वर्षअघि नै निर्धारण भई अधिकांश डुबान क्षेत्रका बासिन्दाले मुआब्जा लिईसकेका छन् । मुख्य बजारमा भने मुआब्जा तोक्न नै आलटाल गरेको ढकालले बताए आयोजना निर्माणका लागि ५८ हजार १ सय ५३ रोपनी जग्गा अधिग्रहण गरिएको छ ।
आयोजनाबाट गोरखाको साविक १४ र धादिङको १३ वटा गाविस प्रभावित हुनेछन् । सो जग्गाको मुआब्जा दिन ढिलाइ गर्ने र जग्गा पनि खरिद, बिक्री गर्न रोक्का हुँदा स्थानीय बासिन्दा मर्कामा छन् । डुवान क्षेत्रमा पर्ने गोरखाको आरुघाट र आर्खेत बजार तथा धादिङको आरुघाट र खहरे बजारको मुआब्जा निर्धारण हुन बाँकी छ । व्यापारिक बजार क्षेत्र भएका कारण पनि प्रभावितहरुले उचित रुपमा माग सम्बोधन गर्न आग्रह गरेका हुन् ।
२०७६ मंसिर २ गते प्रकाशित