
८ कार्तिक,धादिङ/ मनिष दुवाडी–
कोही विद्यार्थीको हातमा क्रिकेट बल छ, कसैको हातमा ब्याट छ, कसैको हातमा क्रिकेट स्टम्प छ, साथै पछाडी राष्ट्रिय झण्डा पनि फहराइरहेको छ । अनि अगाडी बस्ने एउटा विद्यार्थीले प्लेकार्ड लिएका छन्, त्यहाँ लेखिएको छ, ‘प्रिय क्रिेकट संघ, धादिङमा पनि क्रिकेट ल्याउ ।’
यो दृश्य थियो, दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिकामा बालबालिकाहरुवीच भएको क्रिकेट प्रतियोगीता समापन पछिको प्रर्दशनको । जहाँ विद्यालयका बालबालिकाहरुले फ्रेन्चाइज शैलीमा क्रिकेट प्रतियोगीता खेलेपछि धादिङमा रहेको क्रिकेटको क्रेज देखाउन र क्यानको ध्यानाकर्षण गराउनको लागि प्लेकार्ड सहित प्रर्दशन गरेका थिए ।

प्रतियोगीता गराउने विद्यालय थियो बेनिघाट रोराङ गाउँपालिकामा संचालित बेनी शिक्षा सदन, जसले विद्यालयबाट बालबालिकाहरुलाइ दिइने खेलकुद शिक्षामा क्रिकेट खेललाइ पनि समावेश गरेको छ । बेनी शिक्षा सदनले क्रिकेटको सैदान्तिक कक्षाहरु संचालनको गर्नुको साथसाथै खेलकुद सप्ताहमा बालबालिकाहरु वीच क्रिकेट प्रतियोगीता पनि संचालन गरेको छ ।

नेपालमा छोटो समयमा नै उचाईमा पुग्न सफल क्रिकेट खेललाई पहिले पनि विभिन्न विद्यालयहरुले खेलकुद शिक्षामा समावेश गरेको भएपनि फ्रेन्चाइज शैलीमा प्रयोगात्मक प्रतियोगिता गर्ने विद्यालय भने बेनी शिक्षा सदन नै पहिलो भएको विद्यालयका शिक्षक दिपेश कँडेलले बताए ।

दशै तिहारको वीचमा प्राय सवैजसो विद्यालयहरु विदा गरि बन्द रहने भएपनि बेनी शिक्षा सदनले भने खेलकुद सप्ताहको आयोजना गरि बालबालिकाहरुमा क्रिकेट खेलको महत्व बुझाउन तथा क्रिकेटको विकास र प्रवद्र्धनको लागि क्रिकेट खेलसम्वन्धी कक्षा संचालन गरेको थियो । सैद्धान्तिक कक्षा संचालन पश्चात विद्यालयका बालबालिकाहरुलाइ विभिन्न ४ वटा टिममा विभाजन गरि एक आपसमा प्रतिस्पर्धा गराइएको शिक्षक कँडलले बताए ।
विद्यालयका बालबालिकाहरुलाइ बालकतर्फ बेनिघाट सुपर किङ, रोराङ राइडर, त्रिशुली टाइटन र बेनी प्याट्रिवट गरि ४ टिम बनाएर एक आपसमा प्रतिस्पर्धा गराइएको थियो । त्यस्तै बालिका तर्फ बेनी क्वीन र प्रिन्सेस पल्टन टिम बनाइयो थियो । प्रतियोगीतामा बालकतर्फ रोराङ राइडर पहिलो भएका थिए भने बालिका तर्फ प्रिन्सेस पल्टन विजयी भएको थियो । प्रतियोगीताका उत्कृष्ट खेलाडी आसिम खान चयन भएका थिए ।

क्रिकेट खेलको विकास गर्न, नयाँ खेलाडी उत्पादन गर्न र नयाँ पुस्तामा क्रिकेटको क्रेज देखाउनको लागि दशै तिहारको विदाको समयको सदुपयोग गरेर प्रतियोगीता संचालन गरिएको शिक्षक कँडेलले बताए ।
पछिल्लो समय धादिङ जिल्लाबाट पनि क्षेत्रिय स्तरका क्रिकेट खेलाडीहरु जन्मिएका छन् तर धादिङमा जिल्लामा भने क्रिकेट संघको कुनैपनि गतविधि संचालन हुन सकेको छैन । विभिन्न क्लवहरुले स्थानीय स्तरमा धुलोमाटोमा नै क्रिकेट प्रतियोगीता आयोजना गरेको भएपनि सस्थागत रुपमा क्रिकेटका गतिविधि हुन नसकिरहेको बेला बालबालिकाहरुको यो प्रदर्शनले भने सवै क्रिकेट खेलप्रेमीहरुको ध्यान खिचेको छ । कँडेलले भने, ‘बालबालिकाहरुको यो प्रदर्शनले धादिङमा पनि क्रिकेट संघ गठन गर्नुपर्ने आवश्यकता महसुस गराएको छ ।’