Tue. Mar 4th, 2025

अझै खुलेन आरुघाट बजार (फोटो सहित)

शंकर श्रेष्ठ, धादिङ –

arughat 1

गत बैशाख १२ र २९ मा गएको भुकम्पले धादिङ र गोरखाको सिमाना आरुघाट बजार तहशनहश बनायो । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर १२ गते गएको भुकम्पले बाँकी राखेका घरहरु पनि २९ गते सखाप पार्यो । एकछिन अघिसम्म बजार झिलिमिलि थियो, एक्कैछिनमा यस्तो भयो, आरुघाट विशाल नगरका सुरेन्द्र श्रेष्ठले भत्किएका संरचना देखाउदै भन्नुभयो । आरुघाट विशाल नगरका ९० प्रतिशत घर ढलेका छन् । जुन घर ठाडै छ, त्यसमा पनि मानिस बस्न सक्ने अवस्था छैन । ती घरहरु पुरै चिरा परेका छन् । अन्नपात भाडाकुँडा सबै घरले पुरिएका छन् । बाक्लो बस्ती रहेको विशालनगरका घरहरुले बजार प्रवेश गर्ने सडक पुरिएपछि आवत जावत समेत रोकिएको छ । स्थानीयहरु बजार भन्दा माथी पुराना काठपात र जस्ताले छाप्रो बनाएर बसेका छन् ।

arughat 2

सल्यानटार गाविस वडा नम्बर ८ मा पर्ने आरुघाट बजारमा मात्रै ८ जनाको मृत्यु भयो । घरले पुरिएका शवहरु दुईदिन पछि निकालिए । ‘बजार अहिलेसम्म अस्तव्यस्त छ, कसैले सामान निकालेका छैनन् । २÷४ जना अझै छन् भनिया छ, घर नजिक जान सकिएको छैन ।’ विशाल नगरका दिनेश कुमार ढकालले भन्नेभयो । विशाल नगरमा रहेका ३ सय ८८ घर नचर्किएका कुनै छैनन् । आर सिसि घरहरु पनि अधिकांश चर्किएका छन् । ४ हजार भन्दा धेरै मानिसहरुलाई कतिखेर चर्किएको घर ढल्छ भनेर हेर्नुको विकल्प छैन ।

arughat 3

दुईपट्टीका घर ढलेर पुरिएको भित्री बाटो खुलाउन अझै सकिएको छैन । धादिङको सल्यानटार र गोरखाबाट आरघाट प्रवेश गर्ने तीन ओटा बाटो मध्य २ ओटा बाटो भत्किएका घरले पुरिएको छ । स्थानीय स्तरमा भएका कुटो कोदालोले ढुङ्गामाटो र काठपात पन्छाउन नसकिएको र काम गर्दा पनि घर ढलेर च्यापिने त्रासले घरको नजिक जान नसकिएको स्थानीय सुरेन्द्र श्रेष्ठले गुनासो गर्नुभयो । भत्किएका घरको सामान पन्छाएर घरभित्र पुरिएका सामान निकालिदिन स्थानीय प्रशासनमा पटक पटक आग्रह गर्दा पनि चासो नदिएको पडितहरुको गुनासो छ । बजारमा बस्ती बाक्लो भएकाले ढुङगामाटो र पुराना काठ थन्क्याउने ठाउँ छैन । ढलेका विजुलीका खम्बाहरु अझै तह लगाइएको छैन ।

arughat 4arughat 5arughat 6arughat 7

About The Author

अन्य समाचारहरु: