७ जेठ, धादिङ – निर्वाचनको बेला भोट माग्न घरघर पुग्ने नेताहरु विपद्मा गाउँ नफर्किएको गुनासो आइरहँदा धादिङ क्षेत्र नम्बर १ का दुई जना सभाषदहरुले सल्यानटार र आरुघाटको स्थलगत निरिक्षण गरेका छन् ।
जिल्ला सदरमुकाममा नै बसेर उद्धार र राहतमा खटिएका सभाषदहरु स्थित सामान्य बन्दै गर्दा नागरिकको समस्या बुझ्न गाउँ पुगेका हुन् । क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएका सभाषद धनबहादुर घले र समानुपातिक सभाषद परशुराम तामाङले बुधबार सल्यानटारका विभिन्न बस्ती र आरुघाटका नागरिकहरुसंग भेट गर्नुभयो ।
ठूलो मात्रामा मानवीय र भौतिक क्षति भएको स्थानहरुका सर्वसाधारणलाई सान्त्वना दिन र तत्कालको समस्या पहिचान गर्न गाउँ पुगेको सभाषदहरुले बताएका छन् । सल्यानटार पुगेका सभाषदहरुले भुकम्प पछि क्षेत्र नम्बर १ मा भइरहेको गतिविधिसंगै त्यस क्षेत्रमा भएका राहत वितरणको बारेमा सल्यानटार प्रहरीसंग जानकारी लिएका छन् ।
महाभुकम्पले भत्काएका घर पुनस्र्थापनाबारे अन्यौलमा रहेका बुढिगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रका सर्वसाधारण भेट्न र बास्तविक कुरा बुझ्न आफु आरुघाट पुगेको सभाषद् धनबहादुर घलेले बताउनुभयो । जिल्ला दैवी उद्धार समितिले अहिले सरकारी तथा गैर सरकारी र निजी क्षेत्रबाट अति विकट गाउँमा बाहेक अधिकांश क्षेत्रमा राहत सामाग्री पुगिसकेको भनिरहँदा त्यसको अनुमगनको लागि पनि गाउँ हिँडेको सभाषद परशुराम तामाङले बताउनुभयो ।
सभाषदहरु गाउँ नपुग्दासम्म आफ्नो समस्या कस्ले बुझिदेला भन्ने चिन्तामा रहेका सल्यानटारबासीले सभाषदहरु गाउँमा पुगिसकेपछि भने आफुहरुलाई भन्दा बढि क्षति भएका विकट वस्तीहरुलाई प्राथमिकतामा राखेर राहत र नवनिर्माणको काममा लाग्न सभाषदहरुलाई सुझाव दिएका छन् । सभाषदहरुलाई आरुघाट विशालनगरका स्थानीयहरुले गाउँमा नयाँ घर निर्माण, बैकल्पिक बसोबास र नयाँ बासस्थानका विषयमा जिज्ञाशा राखेका थिए ।
सभाषदहरु घले र तामाङले पनि अब वस्ती कहाँ बसाउने भन्ने अन्यौलमा रहेका डुबान क्षेत्रमा स्थानीयहरुको समस्या समाधानमा जोडतोडका साथ लाग्ने आश्वासन दिएर फर्कनुभएको छ ।