सरिता श्रेष्ठ ,धादिङ – शनिबार अपरान्ह हुरीबतास सँगै पानी परेपछि खुल्ला चौरहरुमा टाँगिएका अधिकांश पाल भत्किए ।
केही च्यातिए । केही पाल पानीमा डुब्यो । ओड्ने ओछ्याउने समेत निकाल्न भ्याएनन् । घरमा बस्न नसकेपछि खुल्ला चौरमा पाल टाँगेर बसेका भुकम्प पिडितहरुको रात कष्टपूर्ण बन्यो । बृद्धबृद्धा बालबालिकाको बिचल्ली भएको छ ।
बारम्बारको भुकम्पका धक्काका कारण त्रसित बनेका नागरिकहरुलाई बर्षाले पुनः विचल्ली बनाएको छ । बैशाख १२ गते गएको महाभुकम्प र मंगलबार गएको शक्तिशालि भुकम्पको कारण घर भत्किएर खुल्ला चौरमा आश्रय लिईरहेका नागरिक हुरी बतास र पानी पर्न थाल्नेवित्तिकै भागाभाग चलेको थियो ।
कोठामा बसु भने घर चर्केको छ, चौरमा बसु भने पानी जमेको छ, के गर्नेहोला धादिङबेसीकी ईन्दिरा विकले गुनासो गरिन । पानी पर्न थालेपछि नागरिकहरु आफ्नो लत्ताकपडा बचाउनको लागी अस्थाई बसोबास गरेको खुल्ला चौरमा दौडीएका थिए ।
धादिङबेसीको रायटार, बीच बजार, पुछार बजार र आसपासको खुल्ला चौरमा सयौँ परिवारहरु अहिले पनि आश्रय लिर्दै आईरहेका छन् । भुकम्पको कारण घरमा बस्न नहुने भएको कारण खुल्ला चौरमा बस्यौँ, यती ठुलो पानी पर्छ अब कहाँ गएर बस्ने होला ? नागरिकलाई चिन्ता थपिएको छ ।