Mon. Mar 10th, 2025

किर्गिस्तान सेमिफाइनलमा


४ भदौ , काठमाडौँ —

लगातार दोस्रो जित निकाल्दै किर्गिस्तान पाँचौं सेन्ट्रल जोन भलिबलको सेमिफाइनल प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा सोमबार नेपाललाई ३–० को सेटमा हराएको किर्गिस्तानले मंगलबार माल्दिभ्सलाई पनि ३–० कै सेटमा पाखा लगायो । त्रिभुवन आर्मी क्लबको कभर्डहलमा सम्पन्न खेलमा तीनै सेटमा माल्दिभ्सले कठिन चुनौती पेस गर्न सकेन ।

किर्गिस्तानले पहिलो सेट २५–१५ ले जितेको थियो । दोस्रो सेटमा भने उसलाई तुलनात्मक रूपमा कठिन भयो । २६–२४ ले जितेर २–० को अग्रता बनाएको किर्गिस्तानले तेस्रो सेटमा २५–१९ को सहज जित निकाल्दै समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो । समूहमा बुधबार नेपाल र माल्दिभ्सबीच खेल हुनेछ । विजेता समूह उपविजेता बन्दै सेमिफाइनल पुग्नेछ ।

समूह ‘बी’ अन्तर्गत लगातार दुई जितपछि उज्वेकिस्तान सेमिफाइनल नजिक पुगेको छ । मंगलबार उज्वेकले तुर्कमेनिस्तानलाई ३–० को सेटमा स्तब्ध पारेको हो । पहिलो सेटदेखि नै हाबी रहेको टोलीले २५–१८, २५–२१, २५–१५ को सेटमा जित निकालेको हो । सोमबार उज्वेकिस्तानले बंगलादेशलाई २५–१६, २५–१६, २५–२३ को सोझो सेटमा हराएको थियो ।

मंगलबारै अर्को खेलमा अफगानिस्तानले बंगलादेशविरुद्ध ३–२ को सेटमा रोमान्चक जित हासिल गर्‍यो । पहिलो सेट अफगानिस्तानले २५–२१ ले आफ्नो पक्षमा पारे पनि त्यसपछिका दुई सेटमा बंगलादेश हाबी रह्यो । बंगलादेशले दोस्रो र तेस्रो सेट क्रमश: १९–२५, १८–२५ ले आफ्नो पक्षमा पारेको थियो । तर बाँकी दुई सेटमा अफगानिस्तानले उत्कृष्ट पुनरागमन गरी सानदार जित निकाल्यो । चौथो सेट २५–२२ ले र अन्तिम सेट १५–१२ ले आफ्नो पक्षमा पार्दै प्रतियोगितामा पहिलो जित निकाल्यो ।

About The Author

अन्य समाचारहरु: