Mon. Mar 10th, 2025

नेपालको खेल क्यानबेरामा हुने


२९ श्रावण , अस्ट्रेलिया —
नेपाल र अस्ट्रेलियाबीच हुने विश्वकप छनोट खेल अस्ट्रेलियाको राजधानीस्थित जीआईओ स्टेडियममा हुने तय भएको छ । क्यानबेरास्थित अस्ट्रेलियन टेरिटोरी (एसिटी) सरकार र फुटबल फेडेरेसन अस्ट्रेलिया (एफएफए) ले विश्वकप छनोट प्रतियोगिताबारे सञ्चारकर्मीहरूलाई एक कार्यक्रम आयोजना गरी जानकारी दिएको छ ।

एसिटी सरकारका सहायक मुख्यमन्त्री इभेट बेरी र एफएफएका लुक क्यासरर्लीसहितको टोलीले नेपालसँगको छनोट खेल अक्टोबर १० को साँझ साढे ७ बजे हुने जानकारी दिएको छ ।

क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले दुई देशबीच हुने खेलबारे जानकारी गराए । पत्रकार सम्मेलनमा अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत द्रुपदा सापकोटालाई समेत प्रतियोगिताको तयारी र हुन लागेको प्रतियोगिताबारे जानकारी गराइएको थियो ।

क्यानबेरामा हुने विश्वकप छनोटको तयारी तीव्र गतिमा भइरहेको जनाइएको थियो । २५ हजार ११ जनाको क्षमताको उक्त स्टेडियममा उल्लेख्य संख्यामा अस्ट्रेलियामा रहेका नेपालीको उपस्थिति रहने विश्वास लिइएको छ । खेलका लागि अग्रिम टिकट बुकिङ मंगलबारदेखि खुला गरिसकिएको छ । ‘सहायक मुख्यमन्त्री तथा अस्ट्रेलियाली फुटबल फेडेरेसनका पदाधिकारीसँग नेपाली फुटबल र यहाँका नेपाली दर्शकबारे छलफल भयो ।’

कार्यवाहक राजदूत सापकोटाले कान्तिपुरसँग भनिन्, ‘यो खेललाई लिएर यहाँ रहेका नेपालीका साथै समग्र नेपाल अत्यन्तै उत्साही रहेको जानकारी गराएँ ।’ आफूले उनीहरूसित अन्य खेलसम्बन्धी विषयका साथै खेलका माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ दरिलो बन्ने धारणा व्यक्त गरेको उनले बताइन् ।

विश्वकप २०२२ छनोटका लागि नेपालले अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले पहिलो खेलसेप्टेम्बर ५ मा कुवेतसँग उसकै मैदानमा खेल्नेछ ।

कान्तिपु्रबाट साभार गरिएको

About The Author

अन्य समाचारहरु: