
२३ साउन, जिम्बाब्वे –
जिम्बाब्वेको एक तिहाइ जनसंख्या भोकमरीको चपेटामा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार झण्डै ५० लाख मानिसलाई खाद्यान्नको जरुरी छ ।
जिम्बाब्वे सुक्खा, चक्रवात र आर्थिक संकटको सामना गरिरहेको छ । विश्व खाद्यान्न कार्यक्रम (डब्ल्यूएफपी) ले ३३ दशमलव १ करोड डलर मद्दतको अपिल गरेको छ ।
डब्ल्यूएफपीका प्रमुख डेभिड बीज्लेले भनेका छन्, ुअधिकांश मानिसहरु संकटमा छन् र भोकमरीतर्फ बढिरहेका छन् ।ु कुनै समय खाद्यान्नको सम्पन्न जिम्बाब्वे पछिल्लो केही वर्षदेखि खाद्यान्नको समस्याबाट ग्रसित छ ।
सुक्खाका कारण अन्नपात नराम्रोसँग प्रभावित भएका छन् भने खाद्यान्नको मूल्यमा पनि निकै बढोत्तरी भएको छ ।
पानीको स्तर तल जाँदा जिम्बाब्वेको कारिबा इलाकामा रहेको मुख्य ुपनबिजली प्लान्टुमा पनि असर पुगेको छ । जसका कारण पूरै देशको बिजुली आपूर्ति प्रभावित भएको छ ।
गएको मंगलबार अपिल जारी गर्दै डब्ल्यूएफपीका प्रमुख बीज्लेले झण्डै २५ लाख जनसंख्या भोकमरीको चपेटामा परिसकेको बताए ।
प्रमुख बीज्लेले भने, ‘हामीहरु भोकमरीको चपेटामा परेका मानिसहरुको बारेमा कुरा गरिरहेका छौँ । यदि हामीले उनीहरुको लागि मद्दत जुटाउन सकेनौँ भने उनीहरुको अवस्था झन् नाजुक हुन्छ ।’ उनका अनुसार जिम्बाब्वे अभूतपूर्व सुक्खाको सामना गरिरहेको छ । यो वर्षको सुरुवातमा इदाइ चक्रवातका कारण निकै असर पुगेको थियो ।
चक्रवातका कारण मालावी र मोजाम्बिक पनि प्रभावित भएको थियो र झण्डै ५ लाख ७० हजार नागरिक प्रभावित भएका थिए, जसमा दशौँ हजार मानिसहरु घरबारविहीन भएका थिए ।
पछिल्लो हप्ता अर्थमन्त्री म्थुली नक्यूबले सरकारले गएको जनवरीदेखि ग्रामीण र शहरका झण्डै ७ लाख ५७ हजार मानिसहरुलाई अन्न र अनाज प्रदान गरिरहेको बताए ।
नोभेम्बर २०१७ मा लामो समयसम्म शासन गर्दै आएका रोबर्ट मुगाबेले छोडेपछि राष्ट्रपति बनेका एमर्सन मांगाग्वाले गएको मंगलबार देशमा सुक्खापन देखिएपछि राष्ट्रिय आपतकालको घोषणा गरेका छन् ।
यद्दपि संयुक्त राष्ट्रसंघको पहलमा २९ दशमलव ४ मिलियन डलरको कोषको अपिल जारी गरिएको छ । तर पनि जिम्बाब्वेले भने सुक्खाको असर बाँकी राज्यमा पनि फैलिएका कारण कोषको मात्रा बढाउनु पर्ने बताएको छ ।
२०७६ साउन २३ गते प्रकाशित