Fri. Jan 31st, 2025

वालविवाह रोकथाममा नयाँ वहस

राधिका सापकोटा –


नेपालको कानूनले विवाहको उमेरलाई २० वर्ष तोकेको छ । २० वर्ष पुरा नभै गरिएको विवाहलाई वालविवाह मानेको छ । वालविवाह कानून विपरीतको काम हो र यो कार्य गरेवापत सजायँ र जरीवानाको समेत व्यवस्था गरेको छ । अहिले देशभरी नै वालविवाह एउटा ठूलो वहसको विषय वनीरहेको छ । केही दिन अघि मात्रै विवाह गर्न पाउने उमेर १६ वर्ष बनाउनु पर्छ भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइयो, केही समय अघि सासदले संसदमा नै छोरीहरुको विवाह १६ वर्षमा गर्न पाउनु पर्छ नत्र भने विकृति फैलिन्छ भनेर वोलेका घटनाहरु पनि वाहिर आए । कतिपयको तर्क छ अहिलेको बच्चाहरुको विकास चाँडो हुन्छ त्यसैले २० वर्षको उमेरको हदबन्दी, धेरै भयो । पहिला पहिला पो बाबु आमाले विवाह गरिदिन्थे त, अहिले त आफै भागेर विवाह गर्छन् अब हामीले के गर्न सक्छौं र ? हा,े अहिले यस्तै यस्तै विषयले समुदायदेखि शहर सम्म, सडकदेखि संसद सम्म चर्चा पाइरहेको छ । सबै प्रायः प्रदेशहरुले वालविवाह विरुद्ध अभियान शुरु गरका छन् । ३ नं प्रदेशले २०७८ सम्म वालविवाह मुक्त प्रदेश घोषणा गर्ने लक्ष्य लिएको छ । अन्य प्रदेशले पनि छोरीको विवाह हैन पढाउँ , बेटि बचाउँ, बेटी पढाउँ जस्ता विभिन्न कार्यक्रमहरु ल्याएका छन् । सबैको एउटै उद्देश्य भनेको सानो उमेरमा विवाह गर्ने कुरालाई रोक्ने, छोरीहरुको शिक्षा पूर्ण गर्ने र महिलाहरुलाई सक्षम, सवल शसक्त बनाउने नै देखिन्छ ।

यति हुँदा हुँदै पनि किन बढीरहेको छ त सानो उमेरमा विवाह ? आमा बाबुले गर्दिने विवाह भन्दा पनि आफैले गर्ने विवाह झन किन बढ्दो छ ? यसको जरा सम्म पुग्न जरुरी देखिन्छ नत्र भने हामी वालविवाह विरुद्ध कुनै पनि काम गर्न सक्दैनौं । मैले सानो उमेरमा विवाह गरेका ५ जोडीसंग छलफल गर्ने अवसर पाएको थिएँ । उनीहरुसंग कुरा गर्दा र धेरै विद्यालयमा गएर विद्यार्थीहरु संग छलफल गर्दा प्रायबाट एउटै खालको समस्याहरु आएका छन् । ७,८ कक्षामा पढ्ने केटालाई केटी र केटीलाई केटा मन पर्न थाल्छ ।

उनीहरु एकआपसमा नजिकिन थाल्छन् । त्यसपछि साथीहरुको वीचमा हल्ला हुन थाल्छ फलाना र फलानको लभ परेको छ । व्ल्याकबोर्ड, स्कूलका भित्ताहरुमा उनीहरुको पहिलो नामको अक्षरहरु जोडेर लेख्न थालिन्छ । विस्तारै यो कुरा शिक्षकहरुकोमा पुग्छ । शिक्षकहरुले वोलाएर उनीहरुलाई गाली गर्न थाल्छन् । उनीहरुलाई अनुशासन हीन भएको आरोपमा सजायँ दिइन्छ र अब नबोल्न भनिन्छ । त्यसपछि यही कुरा अभिभावककोमा पुग्छ त्यसपछि उनीहरु कति जनाको त विद्यालय आउने कुरा समेत रोकिन्छ । उनीहरुले गाली, पिटाई समेत खानुपर्ने स्थितिको सृजना हुन्छ । अनि आफूलाई माया गर्ने एक जना मात्र भएको महसुस उनीहरुले गर्छन् । आफूलाई मनपरेको र माया गर्ने मान्छेसंग संगै बस्ने एउटै उपाय भनेको विवाह भएको निष्कर्ष निकालेर भाग्ने गर्छन । अधिकांस जोडिसंग कुरागर्दा यही नै कथा उनीहरुले भने । यी सबैको स्वभाविक कारण भनेको उनीहरुको उमेरजन्य मनोबैज्ञानिक कारण हो जसलाई उचित परामर्श दिन नसक्दा बालविवाह जस्तो दुरगामी असरका घटना भैरहेका छन् ।

अहिले हामी इन्टरनेटको दुनियाँमा छौं । फेसबुक नचलाउने प्रायः कोही नै छैन । मोवाइल सबै सबैको हातमा छ । हामी एउटा कुनामा बसेर संसार हेरीरहेका छौं तर हाम्रो सोच आज भन्दा २० वर्ष अघि जस्तो थियो त्यसमा परिवर्तन हुन सकेको छैन । आज पनि विद्यालयमा केटा र केटीलाई अलग अलग बेन्चमा राखिन्छ, किन भनेर सोध्यो भने उनीहरु विग्रन्छन्, पढाईमा ध्यान दिदैनन् भन्ने जवाफ पाइन्छ । अहिले पनि विवाह र सेक्सलाई जोडेर हामी हेरिरहेका छौं । सेन्स हुनलाई विवाह हुनुपर्छ वा केही गरी सेक्स भै हाल्यो भने त्यही व्यक्तिसंग विवाह गर्नु अनिवार्य मानिन्छ । सेक्सको वारेमा कुरा गर्नु, छलफल गर्नुलाई इज्जतसंग जोडिन्छ ।

१२,१३ वर्षको उमेरमा पुगेपछि केटाले केटी मन पराउनु स्वभाविक कुरा हो, प्राकृतिक कुरा हो तर यो हुँदा हुँदै पनि यसलाई हामीले अप्राकृतिक बनाईदियौं । यसलाई बन्द कुरा र इज्जत विरुद्धको कुरा बनाईदियौं । त्यसैले धेरै किशोर किशोरी आफूले ठूलो अपराध गरेको संझेर आत्महत्या समेत गर्न पुग्दछन् । हामीले कहिलै केटालाई केटी मन पर्नु र केटीलाई केटा मनपर्नु स्वभाविक कुरा हो भनेर बच्चाहरुलाई सिकाएनौं । तिमीलाई मनपर्यो भने माया गर, वोल, कुरा गर केही विग्रिदैन तर विवाह उमेर नपुगी आफ्नो खुट्टामा आफै उभिन सक्ने नभै नगर भनेर कहिलै सिकाएनौं । खाली उनीहरुलाई डरत्रास र मनपराउनु गलत हो भन्ने मात्र सिकायौं, वालविवाहबाट हुने असरको बारेमा सिकाएनौं जसको परिणाम स्वरुप वालवालिकाहरुले सानो उमेरमा विवाह गरिरहेका छन् ।

अहिले वालविवाह विरुद्ध थुप्रै कार्यक्रम भैरहेका छन् । वालक्लबहरु, किशोरी समूहहरु निमार्ण भैरहेका छन् तर तिनै वालक्लब र किशोरी समूहका सदस्यहरुले सानो उमेरमा विवाह गरेको हामीले पाईरहेका छौं, आखिर किन त ? हामीले सधै सानो उमेरमा विवाह गर्नु हुदैन, कानुनले सजायँ गर्छ, शिक्षा, स्वास्थ्यमा असर पर्छ भन्ने मात्र सिकायौं तर उनीहरुका मनमा भएका अनेकौ सवालहरुको जवाफ हामीले दिन सकेनौं । जब सम्म हामी किशोर किशोरीसंग खुलेर सेक्सको कुरा गर्दैनौं, उनीहरुलाई सेक्स र विवाह फरक कुरा हो यो एक अर्काको पर्याय हैन भनेर सिकाउन सक्दैनौं त्यत्तिवेला सम्म चाढो विवाहको अन्त्य संभव छैन ।

एकजना ८ कक्षामा पढ्ने १४ वर्षको बालिका गर्भवती भएको ६ महिनामा मात्रै घटना वाहिर आयो । हामीले वालिकालाई किन समयमा नभनेको गर्भपतन गर्न मिल्थ्यो भनेर सोध्दा उनले आफ्नो गर्भमा बच्चा आएको वा शारिरीक सम्बन्ध राख्दा बच्चा बस्छ भन्ने समेत थाहा नभएको बताईन । साच्चै हामी कहाँ कुरा गर्छाैं त ? न परिवारमा यस्ता विषयमा कुरा हुन्छ न विद्यालयमा नै । अब हामीले किशोरीहरुलाई महिनावारी भैसकेपछि शारिरीक सम्बन्ध भयो भने तिम्रो गर्भ रहन सक्छ भन्ने सिकाउन जरुरी छ । कसरी सुरक्षित सम्बन्ध बनाउन सकिन्छ भन्ने कुरा, परिवार नियोजनका अस्थायी साधनका कुरा, गर्भपतन सम्बन्धि व्यवस्थाका कुराहरु हामीले गर्न जरुरी छ । हामीले इज्जतका कुरा गरेर, लाजका कुरा गरेर अब समस्या समाधान हुनेवाला छैन अब उनीहरुलाई पूर्ण रुपमा सूचना दिने र सचेत बनाउने काम गर्न जरुरी छ ।

हामी २० वर्ष पछिको कुरालाई लिएर आज नै बालबालिकाहरुको जीवन वर्वाद गरिरहेका छौं । अहिले चाढो उमेरमा विवाहको दोष वालवालिकाहरुलाई लगाएपनि त्यसको सबै भन्दा ठूलो दोषी भने हामी अभिभावक र शिक्षकहरु नै हौं । कुनै वालवालिकाले अहिले कसैलाई मन पराउँछ भने त्यसमा किन हामी अवरोध गरिरहेका छौं । हामीले उसलाई माया गर्न दिने मनपराउन दिने , संगै हाँस्न, खेल्न, वोल्न दिने तर उनीहरुलाई सुरक्षित हुन चाहिने सूचना पूर्ण रुपमा दिने हो भने केही विग्रदैन । आज उसले मन पराएको मान्छे भोली उसको परिपक्वतासंगै परिवर्तन हुन सक्छ , परिवर्तन भएन भनेपनि उनीहरुले निर्णय गर्न सक्ने अवस्थामा पुगेर यही नै सही निर्णय हो भन्ने सोच्छन् भने किन आपत्ति गर्नु पर्यो र ।

हाम्रो इज्जतका लागि, अनुशासनको नाममा आज हामी थुप्रै वालवालिकाहरुको भविष्य अन्धकार बनाईरहेका छौं । १७ वषर््ामा विवाह गर्ने १८ वर्षमा बच्चा जन्माउने र २० वर्ष हुँदा नहुँदै सम्बन्ध विच्छेद गर्नुपर्ने परिस्थितिमा पुगेका थुप्रै किशोर किशोरी हाम्रो सामु छन् । हामीले विवाह र सेक्सलाई जोडिदिएका कारणले आज सानो उमेरमा विवाह गर्नेहरुको संख्या दिन दिनै बढिरहेको छ । यदि साच्चै हामी वालविवाहलाई अन्त्य गर्न चाहान्छौं भने एकातिर राज्यले यस्ता काममा लगानी गर्ने, स्रोत जुटाउने जस्ता काम गर्न जरुरी छ भने अर्कोतिर शिक्षक, नागरिक समाज, संघसंस्था, समाजका अगुवा वा वृद्धिजीविहरुले यी विषयहरुमा छलफल गर्ने, वालवालिकालाई सूचना दिने, अभिभावकहरुलाई सचेत बनाउने काममा लाग्नु पर्ने जरुरी देखिन्छ ।

जब हामी केही कुरालाई बन्द गरेर, लुकाएर कसैले हेर्न हुदैन भन्छौं मान्छेलाई त्यो नहेर्दा सम्म खुल्दुली भैरहन्छ र ऊ कसरी त्यो हेर्न सकिन्छ भनेर खोजीबस्छ तर त्यसलाई खुल्ला राखिदिनु भयो भने धेरैले वास्ता नगरी हिड्छन् । हो सेक्सको विषयलाई पनि हामीले बन्द गरेर राख्यौं जसले गर्दा यो प्रतिको जिज्ञासा धेरै भए र यसको खुल्दुली मेटाउँदा वालविवाह र अन्य अपराध जन्य घटना सम्म भएका छन् त्यसैले यसलाई खुल्ला विषय बनाउन जरुरी छ । यसो गरिरहँदा उनीहरुलाई पूर्ण सूचना र सूरक्षाको ज्ञान दिन पनि उत्तिकै जरुरी छ ।

२०७६ साउन १५ गते प्रकाशित

About The Author