
- अवैध उत्खननको विरोध गर्दा जनप्रतिनिधिले ज्यान मार्ने धम्की दिएपछि प्रशासन संग सुरक्षा माग
१३ साउन, धादिङवेशी / मनिष दुवाडी –
जथाभावी स्काभेटर लगाएर खोलाको दोहन गरेको र आफ्नो रोजीरोटी खोसिएको भन्दै गजुरी गाउँपालिका वडा नं ६ दरियाँल खोला आसपासका स्थानीयहरु गुहार माग्दै जिल्ला प्रशासन कार्यलय धादिङ आइपुगेका छन् ।
जथाभावी खोलामा डोजर लगाएर खोलाको बहाव नै परिवर्तन गरिदिएको, खोलामा बालुवा निकाल्ने मदजुरहरुको रोजीरोटी खोसिदिएको र खोलामा ठुला ठुला खाल्डाहरु बनाइदिएर मेलापात आवत जावत गर्दा ज्यान नै जोखिममा परेको भन्दै तत्काल मेसिन लगाउने काम बन्द गराइदिन माग गर्दै स्थानीयहरुले केहीवेर जिल्ला प्रशासन कार्यलय घेराउन नै गरेका छन् ।
जनप्रतिनिधिहरु नै अवैध काममा लागिरहेको र स्थानीयहरुले विरोध जनाउँदा उल्टै स्थानीय बासीहरुलाइ ज्यान मार्ने धम्की दिएको पिडितहरुले बताएका छन् । उनीहरुले खोलाको प्राकृतिक बहाव नै परिवर्तन गरि सार्वजनिक जमिन तथा खोलाहरुमा जभाभावी डोजर लगाएको भन्दै तत्काल डोजर लगाउने काम बन्द गराइदिन प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, जिल्ला समन्वय समिति र जिल्ला प्रहरी कार्यलय धादिङमा ज्ञापन पत्र बुझाएका हुन् ।
प्रमुख जिल्ला अधिकारी पाण्डेसामु ज्ञापन पत्र बुझाउदै स्थानीय आमा समुहकी अध्यक्ष समेत रहेकी विमला चेपाङले भनिन्, ‘हामीले चुनाव जिताएको वडा सदस्य ध्रुव सुवेदीलाइ जथाभावी डोजर नलगाउ भन्दा मलाइ आपत्तीजनक शब्द प्रयोग गरि ज्यान मार्ने धम्की दिए । हामीलाइ प्रहरी प्रशासनले सुरक्षाको ग्यारेन्टी पनि गरिदिनुपर्छ ।’

स्थानीयहरुको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले मेसिन लगाएको देख्ने वित्तिकै प्रहरीले कब्जामा लिने गरेको जिकिर गरे । उनले भने, ‘नदी तथा खोलामा मेसिन लगाउन पाइदै पाइदैन, सुचना पाउने वित्तिकै प्रहरी लगाएर हामी कारवाही गराइहाल्छौँ ।’
गाउँपालिका र वडाकार्यलयमा पटक पटक गुनासो गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर जिल्ला आउन परेको स्थानीयहरुले बताएका छन् । खोलामा बालुवा निकाल्ने काम गर्ने मजदुर राजकुमार चेपाङले भने, ‘हामी यही बर्खामा २ महिना काम गरेर ६ महिनाको खर्च जुटाउने गरेका थियौँ, अहिले मनलाग्दी जताततै डोजर लगाइदिएर हाम्रो रोजीरोटी खोस्ने काम भएको छ ।’ नदी तथा खोलाहरुमा मेसिन लगाउनै पाइदैन भन्ने थाहा हुँदा हुँदैपनि गाउँपालिकाका जनप्रतिनिधिहरुकै मिलेमतोमा अवैध काम भइरहेको राजकुमारले बताए ।
शुक्रवार विहान ४ बजे इलाका प्रहरी कार्यलय गजुरीले खोलामा स्काभेटर लाइरहेको अवस्थामा चालक र स्काभेटर नियन्त्रणमा लिइ स्काभेटर साँचो जिल्ला समन्वय समितिमा बुझाएको थियो । जिल्ला समन्वय समितिमा ५० हजार जरिवाना तिरेर डोजर साहुले डोजरको चावी फिर्ता लगिसकेको जिल्ला समन्वय समितिले जनाएको छ । त्यस्तै आइतवार पनि खोलामा दिउसै डोजर लगाइरहेको अवस्थामा स्थानीयबासीले २ वटा डोजर कब्जामा लिएपछि चालक र बालुवा झिक्न लगाउने ध्रुव सुवेदी फरार भएका थिए । सुवेदी गजुरी गाउँपालिकाको वडा नं ६ को वडा सदस्य हुन् भने पुर्व माओवादी केन्द्रको जिल्ला कमिटि सदस्य हुन् ।