Mon. Mar 10th, 2025

प्रथम मेयर कप फुटवलको उपाधी धादिङ फुटसल एकेडेमीलाइ

उपाधि विजेता धादिङ फुटसल एकेडेमीको टोली जितपछि फोटो खिचाउदै । फोटो : मनिष दुवाडी

२७ जेठ, धादिङ

मनिष दुवाडी

धादिङवेशीमा आयोजना भएको प्रथम नीलकण्ठ नगरपालिका मेयर कप खुल्ला फुटवल प्रतियोगिताको उपाधि वडा नं ३ मा रहेको धादिङ फुटसल एकेडेमीले हात पारेको छ । फाइनल खेलका प्रतिद्धन्दी नीलकण्ठ नपा १२ को साँकोष युवा क्लवलाइ ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै १ लाख ५ हजार राशीको प्रथम पुरस्कार हात पारेको हो ।

खेलको सुरुवाती समयदेखि नै सांकोष युवा क्लवलाइ दवावमा राखेको धादिङ फुटसल एकेडेमीका लागि खेलको २९ औं मिनेटमा राजेश भण्डारीले सुरुवाती अग्रता दिलाएका थिए । लगत्तै ३१ औ मिनेटमा साँकोष युवा क्लवका श्रीकृष्ण श्रेष्ठले ३ जना विपक्षी खेलाडीलाइ छक्याउदै निकै उत्कृष्ट गोल गरेपछि साँकोष खेलमा फर्किने प्रयास गरेको थियो ।

निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा साँकोष युवा क्लवका डिफेन्सको कमजोरीको फाइदा उठाउदै खेलको ३६ औ मिनेटमा धादिङ फुटसल एकेडेमीका रवी भण्डारीले दोस्रो पटक फुटसल एकेडेमीको लागि अग्रता दिलाएका थिए । खेलको ४७ औ मिनेटमा रवि भण्डारीले नै ब्यक्तिगत दोस्रो र टिमको लागि तेस्रो गोल गर्दै टिमलाइ जित तर्फ उन्मुख गराएका थिए ।

दोसो हाफको सुरुवाती समयमा नै २ गोलले पछि परेको अवस्थामा साँकोष युवा क्लवले खेलमा फर्किने पटक पटक प्रयास गरिरहेको थियो । खेलको ५० औँ मिनेटमा र ५८ औ मिनेटमा २ पटकसम्म पाएको सुनौलो अवसर खेर फाल्दा साँकोष खेलमा फर्किन सकेन ।

६४ मिनेटमा धादिङ फुटसल एकेडेमीका कप्तान गोपिकृष्ण भण्डारीले निकै उत्कृष्ट गोल गर्दै टिमका लागि चौथो गोल गरेर उपाधि सुनिश्चित गरेका थिए । गोल गर्न २ पटकसम्म पाएको सुनौलो अवसर खेर फाल्दा साँकोष दोस्रो पुरस्कारमै चित्त बुझाउन बाध्य भयो ।

फुटवल प्रतियोगीताको उत्कृष्ट खेलाडी धादिङ फुटसल एकेडेमीका डिफेन्डर मान बहादुर राना मगर घोषित भए भने उत्कृष्ट गोलरक्षकको उपाधि फुटसल एकेडेमीकै चन्द्र बहादुर तामाङले पाए । प्रतियोगीताको उच्च गोलकर्ताको उपाधि भने सेमिफाइनलबाटै बाहिरिएको विद्यार्थी उपकार समाज धुवाँकोटका खेलाडी सुब्बा तामाङले पाए । उनले प्रतियोगीता अवधिभर ६ गोल गरेका थिए ।

मेयर कप भलिवलको उपाधि भने छात्र तर्फ धादिङ बोर्डिङ उच्च मावि र छात्रा तर्फ पञ्चकन्या माद्यमिक विद्यालय खाल्टेले जितेको थियो ।

प्रतियोगीता नीलकण्ठ नगरपालिकाको आयोजना र न्यु किवो बार्डिङ स्कुलको ब्यवस्थापनमा सम्पन्न भएको थियो । विजयी खेलाडीहरुलाइ बधाइ दिदै नीकलण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुङगानाले खेलाडी उत्पादन र प्रतिभा प्रदर्शनको लागि मेयर कप उत्कृष्ट प्लेटफर्म बन्न सक्ने बताए । आगामी वर्षदेखि पुरस्कार राशीमा बृद्धि गरेर प्रतियोगीता आयोजना गरिने र खेलमैदान पनि बनाउने मेयर ढुङगानाले बताएका छन् ।


About The Author

अन्य समाचारहरु: