Fri. Nov 29th, 2024

धादिङमा नेपाली काँग्रेसको ‘राष्ट्रिय जागरण अभियान’ सुरु


२५ बैशाख, धादिङ –

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले धादिङ जिल्लामा ‘हिमाल, पहाड, तराई मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ । गमलामा पानी हालेर नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले बुधबार अभियानको सुरुवात गरेका हुन् ।

अभियानको सुरुवात गर्दै केन्द्रिय सदस्य पौडेलले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने, काँग्रेसको नेतृत्वमा मुलुकले हाँसिल गरेका राजनैतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्ने उद्देश्य रहेको बताए । देशका सबै जिल्ला, क्षेत्र, गाउँ/नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुने उनले बताए ।

जागरण अभियानका उद्घाटन कार्यक्रम र भाषण छरितो ढंगले संचालन गरिएको छ । अभियानको बारेमा काँग्रेस धादिङका सभापति रमेश धमला, महिला वक्ताको रुपमा महिला संघकी अध्यक्ष अम्बिका अधिकारी र प्रमुख अतिथि पौडेलले मन्तव्य राखेका थिए । जागरण अभियान अन्तर्गत अभियानको उद्देश्य सम्प्रेषण गर्ने, सदस्यता वितरण गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पार्टीको अभिलेख संकलन कार्यक्रमलाई तीव्रता दिने र संकटकालका ऐतिहासिक घटनास्थलमा पुगेर ‘श्रद्धा र प्रेरणा’ कार्यक्रम गरिने जनाएको छ ।

अभियानको प्रथम चरण बुधबारबाट प्रारम्भ भई आगामी जेठ २५ गते समापन हुनेछ । त्यस्तै दोस्रो चरण भदौ २४ गते (बिपी जयन्ती) दिन प्रारम्भ भई असोज ७ गते समापन हुने भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते (मेलमिलाप दिवस) समापन हुने जनाएको छ । प्रथम चरण ७७ जिल्लामा, दोस्रो चरण ३३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरण ७५३ स्थानीय तहमा हुने कार्यतालिका रहेको नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य नवराज तिमिल्सीनाले जानकारी दिए ।

अभियान अन्र्तगत पार्टीका पुराना अग्रजलाई सम्मान गर्ने, स्वास्थ्य स्थिति, घरायसीस्थिति बुझ्नाका साथै पार्टीका लागि आवश्यक सल्लाह र सुझाव ग्रहण गर्ने, शहीदका घरपरिवार भेट्ने, श्रद्धा प्रकट गर्ने तथा मुलुक र पार्टीका लागि सुझाव समेत लिइने बताइएको छ । सो अवसरमा पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा विजयी भएकाहरुसँग पार्टीको चुनावी घोषणापत्र र नागरिकको अपेक्षा अनुरूपका काम के–कस्तो रुपमा भएका छन् भन्ने सम्बन्धमा समेत समीक्षा कार्यक्रम गरिने नेपाली काँग्रेसले जनाएको छ ।

२०७६ बैशाख २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: