चरीकोट – भूकम्पको कारण क्षति भएपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनको सम्पूर्ण काम अवरुद्ध भएको छ। भूकम्पको कारण आयोजनाको ड्यामसाइड ३० सेन्टिमिटरभन्दा बढी भासिएको आयोजनाका अधिकारीले जानकारी दिएका छन्।
दोलखाको लामाबगरमा निर्माण भइरहेको चार सय ५६ मेगावाट विद्युत् क्षमताको आयोजनाको ड्यामसाइड भासिएको, केही घरमा क्षति भएको र सडक पूर्ण रूपमा भत्किएको आयोजनाका प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिए।
उनले अहिले आयोजनाको ध्याबन उद्धार र राहत कार्यमा रहेकाले केही दिनपछि आयोजनाको अन्य काम गर्ने बताए। आयोजनाको पूर्ण क्षतिको तथ्यांक भने विज्ञको अध्ययनबाट मात्र जानकारी आउने उनले बताए।
द्रुत गतिमा निर्माण भइरहेको तामाकोसी आयोजनामा क्षतिको कारण निर्माण समय र लागत बढ्ने बताइएको छ। गोगरदेखि लामाबगरसम्मको सबै सडक भत्किएको, ड्याम साइड भासिएको कारण लगानी बढ्ने अनुमान आयोजनाले गरेको छ।
भूकम्प आएपछि मजदुरले काम छोडेर आफ्नो घरतर्फ लागेको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिए। उनले नेपाली मात्र नभएर चाइनिज मजदुर पनि डरका कारण काममा नफर्किएको र कतिपय राजधानी गएर बसेको बताए।
प्रवक्ता न्यौपानेले आयोजना स्थलदेखि ड्यामसाइड रहेको लामाबगरसम्म जाने सडकमा पहिरो गएको र ढुंगा खसिरहेकोले सडक निर्माण गर्न नसकिएको बताए। आयोजनाको काम पूर्ण रूपमा रोकिएको बताउँदै उनले राहत र उद्धारपछि मात्र काम सुचारु हुने जानकारी दिए। भूकम्पले मानवीय क्षति भने भएको छैन।
स्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको तामाकोसी आयोजना २०७३ साल भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
अन्नपूर्णबाट